PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जनप्रतिनिधिको मनोमानी: 'मोवाइल खरिददेखि मोटरसाइकल किन्नेसम्मका निर्णय'



अमर बडुवाल

जनप्रतिनिधिको मनोमानी: 'मोवाइल खरिददेखि मोटरसाइकल किन्नेसम्मका निर्णय'

काठमाडौं: सुर्खेतको चौकुने गाउँपालिकाले आफ्नो सेवालाई चुस्त बनाउन भन्दै ९ वटा मोटरसाइकल किन्ने निर्णय गरेको छ।

गाउँसभामा ९ वटा मोटरसाइकल किन्ने विषयमा कुरा भएसँगै स्थानीयले विरोध गरेका छन्। सामाजिक सञ्जालमा पनि निर्णयको आलोचना भएको छ।

गाउँसभाले ९ वटा मोटरसाइकल किन्न २२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ। ९ मोटरसाइकलका लागि दुई लाख ५० हजारका दरले उक्त रकम विनियोजन गरिएको हो।


चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने साविक ५ वटा गाविस हुँदा गाविस सचिवहरुले मोटरसाइकल चढ्ने गरेकाले नवनिर्वाचित वडाध्यक्षलाई पनि मोटरसाइकल किन्ने विषयमा छलफल भएको बताउँछन्।

शाहीले भने '५ वडाध्यक्षले सचिवले चढ्ने गरेका मोटरसाइकल चढ्ने भए, बाँकी वडाध्यक्षले पनि पाउनुपर्‍यो भनेर प्रस्ताव आयो। त्यसमा छलफल भएर सर्वसम्मतीले निर्णय गरिएको हो'

उनले ५ वटा मोटरसाइकल वडाध्यक्षको लागि र ४ वटा गाउँपालिका कार्यालयको लागि भएको बताए।

मोटरबाटो राम्रो नभएकाले छिटो-छरितो सेवा दिनको लागि मोटरसाइकल आवश्यकता परेकाले किन्ने निर्णय गरिएको उनले बताए। शाहीको दाबी छ 'बृद्धाभत्ता घरघरमै पुर्‍याउने निर्णय गरेका छौँ, योजना अनुगमन गर्न पनि हिडेर जान सम्भव छैन। गाउँपालिकाले दिने सेवा जनस्तरमा तत्काल पुर्‍याउन पनि मोटरसाइकल आवश्यक छ।

तर चौकुने गाउँपालिका अध्यक्षमा शाहीसँग पराजित माओवादी केन्द्रका उम्मेदवार खडक बाँसपाने 'विवश' भने सडक बाटो नै नभएको ठाउँमा मोटरसाइकल किन्ने निर्णय गर्नुले आफू आश्चर्यमा परेको बताउँछन्।

पहिला बाटो सुधार गरेर १२ महिना नै बाइक गुड्न सक्ने भएपछि किन्दा पनि हुन्थ्यो। पहिलो निर्णयमा नै मोटरसाइकल किन्ने निर्णय गर्नुमा चुनावी खर्च उठाउन हतार भएको दाबी उनी गर्छन्।

विवश भन्छन् 'जनमुखी कार्यक्रम नै राखिएको छैन। उहाँहरुको भन्दा दुई/तीन सय मत कम आएर पराजित भए पनि जनताले मलाई मत दिएका छन्। हाम्रा कार्यक्रम पनि राखिदिनुस भनेर बारम्बार आग्रह गरेँ। तर गाउँसभामा बहुमतको दम्भले उहाँरुले कुनै पनि सुझाव समावेश गर्नु भएन।'

तर, वडा नम्बर दुईका अध्यक्ष मयाराम जोशी भने ५ वटा मोटरसाइकल वडाध्यक्षका लागि किन्ने निर्णय भएकोबारे मात्र थाहा भएको बताउँछन्। अन्य चार वटा मोटरसाइकलको विषय मलाई थाहा छैन।

जोशीले भने 'त्यो उहाँहरुको आन्तरिक निर्णय होला। ५ वटा मोटरसाइकलका लागि १२ लाख ५० हजार रुपैयाँ छुट्याउने कुरा भने सर्वसम्मतीले निर्णय भएको हो।'

सामाजिक युवा सञ्जाल सुर्खेतका कोषाध्यक्ष तथा चौकुने गाउँपालिका स्थानीय वासिन्दा हरिचन्द्र भण्डारी गाउँपालिका अध्यक्षले घोषणापत्रमा एउटा कुरा गरे पनि व्यवहारमा भने अर्कै कुरा गर्न थालेको बताउँछन्।

उनले भने, 'गाउँपालिकाको चुनावी घोषणापत्रमा एमालेले मेट्रो रेलको सर्वे गर्ने कुरा उल्लेख थियो, स्कुलमा बस पुर्‍याउनेदेखि हेडमास्टरलाई बाइक दिने कुरासम्म उल्लेख गरेको थियो। ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई ल्यापटप दिने पनि उल्लेख थियो। तर निर्वाचित भएपछिको पहिलो निर्णयमा नै आफ्नै सेवासुविधाको लागि मोटरसाइकल किन्ने निर्णय गर्नुले जनमतको अपमान भएको छ।'

चौकुने गाउँपालिकाका पश्चिमका वडाहरुमा वर्षातको समयमा बाटो बिग्रिएर कुनै पनि सवारीसाधन चल्न सक्दैनन्।

सरकारले विकास खर्चका लागि छुट्याएको बजेट कर्मचारीको तलव-भत्ता र सवारीसाधनमा खर्च नगर्न निर्देशन जारी गरे पनि स्थानीय सरकारले अधिकार खोसेको आरोप लगाउँदै अटेर गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell