
काठमाडौँ : गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताएका छन्।
व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री शर्माले बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
उनले पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना बढ्दै गएको देखिएकाले त्यस्ता घटनालाई रोक्न जनप्रतिनिधिको अगुवाइमा पूर्वसतर्क रहने कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताए।
गृहमन्त्री शर्माले भोजपुरमा केही सयमअघि तीनजना बालबालिकाको मृत्यु भएको घटनाको छानबिन र अनुसन्धानका लागि केन्द्रबाटै उच्चस्तरको प्रविधिसहितको अनुसन्धान टोली खटाउन मन्त्रालयबाट निर्देशन भइसकेको जानकारी दिए।
यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ माथि भएको छलफलमा उनले यातना असल समाजका विरुद्धमा हुने भएकाले सार्वजनिक ओहदामा हरेक व्यक्तिलाई यसले समेट्ने बताए।
उनले भने,‘राज्यलाई नै जिम्मेवार गराउनेसँग सम्बन्धित भएर विधेयक ल्याउन लागिएको हो। यसलाई समयानुकूल बनाएर लैजान सरकार तयार छ।’ रासस