PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

साझा यातायातले अब उपत्यका बाहिर सेवा बिस्तार गर्ने



रासस

साझा यातायातले अब उपत्यका बाहिर सेवा बिस्तार गर्ने

ललितपुर : साझा यातायातले उपत्यका बाहिर सेवा बिस्तार गर्ने भएको छ। 

साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो। साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ। देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए।

साझाको पुरानै रङ्ग र सेवा हुनेछ। तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ। यी बस केही समयमा नै उपत्यका भित्रने उनी बताउँछन्।

नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उनले भने,‘धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ।’ 

गत वर्ष काठमाडौँ महानगरपालिकाले १० करोडको सेयर खरिद गरेको थियो। त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो।

ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले एक करोडको सेयर खरिद गरेको थियो। गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो। 

विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो। दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell