PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

विवेकशील र साझाको एकता : नेतृत्वमा अन्यौलदेखि अस्पष्ट आइडियोलोजीसम्मका चार दृश्य

विवेकशील र साझाको एकता : नेतृत्वमा अन्यौलदेखि अस्पष्ट आइडियोलोजीसम्मका चार दृश्य

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौँ :  आफूलाई वैकल्पिक राजनीतिक दल भएको दावी गर्ने दुई दल विवेकशील नेपाली र साझा पार्टीबीच आज एकीकरण भएको छ। नयाँ
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। 

विवेकशीलका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्र एकीकृत पार्टीमा सहसंयोजक रहेका छन्। संयोजकको पद खाली राखिएको छ। 

अहिले एकीकृत पार्टीमा ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य बनाइने भएको छ। 

नेतृत्वमा अन्योल 

राजनीतिमा आन्तरिक नेतृत्व एकदमै महत्वपूर्ण मानिन्छ। तर, घोषित नयाँ 'विवेकशील साझा पार्टी'मा कसले नेतृत्व गर्ने भन्ने कुरामा अन्यौल छ। 

पार्टी घोषणा कार्यक्रममा बोल्दै साझा पार्टीका संयोजक रहेका रविन्द्र मिश्रले विवेकशील नेपाली दलका संयोजक उज्ज्वलबहादुर थापालार्इ नयाँ एकीकृत पार्टीको संयोजक बन्न अनुरोध गरेको बताएका छन् भने विवेकशील नेपाली दलका संयोजक उज्ज्वलबहादुर थापाले पनि साझा पार्टीका संयोजक रविन्द्र मिश्रलार्इ पनि नयाँ पार्टीको संयोजक बन्न अनुरोध गरेका थिए। 

अन्तत: दुर्इजना एउटै पदमा रहेर संयोजक पद खाली राखिएको छ। 

अस्पष्ट आइडियोलोजी 

तत्कालीन विवेकशील नेपाली दलका संयोजक तथा नयाँ एकीकृत विवेकशील नेपाली साझा पार्टीका सहसंयोजक उज्ज्वल थापाले विवेकशील नेपाली दल एउटा अभियानबाट सुरु भएको बताउँदै आएका छन्।

आज नयाँ एकीकृत पार्टीको घोषणा कार्यक्रममा बोल्दै थापाले आफ्नो दलले फरवार्ड पोलिटिक्स गर्ने बताएका छन् भने नयाँ एकीकृत पार्टीका सहसंयोजक नै रहेका रविन्द्र मिश्रले भने आफ्नो दलले सेन्टर लेफ्ट पोलिटिक्स गर्ने बताए। 

समृद्धिको रट 

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीले समृद्धिको नारा आगाडि ल्याउँदै आएका छन्। साझा र विवेकशील दुर्इवटा पार्टी एकीकृत भएर विवेकशील साझा पार्टी हुँदा पनि समृद्धिको कुरा सबैभन्दा अगाडि आएको हो। 

हाम्रै कालमा नेपालमा समृद्धिको ढोका खोल्ने बताउने दलले सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयको राष्ट्रमा लैजान सक्नु नै ठूलो फड्को हुने मिश्रले बताए। 

एकीकरणको आधार विचार होइन 

पार्टीका सहसंयोजक रविन्द्र मिश्रले पार्टी एकीकरणमा कुनै स्वार्थ नजोडिएको बताए। 

मिश्रले विचार मिलेर या कुनै स्वार्थ मिलेर आफूहरु एक नभएको स्पष्ट पार्दै भने, 'हाम्रा विचार मिलेर हामी एक भएका होइनौँ, जनता तथा शुभचिन्तकको सल्लाहमा नै हामीले यो फैसला लिएका हौं।' 

 बाबुरामसँग एकता गरेर विवेकशील नयाँ साझा पार्टी बनाउने विचार छ कि छैन भनेर सोधिएको प्रश्नमा मिश्रले उपस्थितहरुलाई ‘एकछिन अझै हाँस्नु हुन्छ कि’ भनेर उडाए। तर थापाले भने ‘कोही पनि सकारात्म्क छन् भने मिल्न तयार छौँ।‘
 


ट्रेन्डिङ पोस्ट

Ncell