
काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज पुनः सर्वोच्चमा बहस हुँदैछ। जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन। अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ।
साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको छैन।
न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। बिहीबार पनि मुद्दाको सुनुवाइ निरन्तर रहनेछ।
बिहीबार सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहसलाई निरन्तरता दिनेछन्। यस्तै निर्वाचन आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस पनि बाँकी छ। सरकारी वकिल र आयोगका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षलाई जवाफका लागि संक्षित बसहको समय दिइनेछ।
सरकारी वकिल र आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस व्यवस्थापन भएमा भरतपुर प्रकरणले आज निकास पाउने सम्भावना छ। तर, संयुक्त इजलासका न्यायाधीशबीच राय नमिलेको अवस्थामा मुद्दा पुनः लम्विनेछ।
कहिले के भयो?
जेठ १४ –मध्यरातमा मतगणना स्थलमा माओवादी केन्द्रका कार्यकर्ताद्धारा मतपत्र च्यातिए। माओवादीका दुई कार्यकर्ता पक्राउ। अदालतबाट धरौटीमा रिहा।
जेठ १५ –घटनाबारे जाँचबुझ गर्न सह–न्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानविन समिति गठन ।
जेठ २० –निर्वाचन आयोगद्वारा भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय।
जेठ २१ –एमालेका भरतपुर १९ का वडा सदस्यका उम्मेदवार समेत रहेका गुन्जमान बिकद्वारा आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर।
जेठ २२ –न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासद्वारा ६ दिन निर्वाचन प्रक्रिया रोक्न अन्तरकालीन आदेश। दुबै पक्षलाई छलफलमा झिकाइयो।
जेठ २८ –दुबै पक्ष अदालतमा उपस्थित भए पनि मुद्दा हेर्न नभ्याउने सूचीमा।
जेठ ३० –मुद्दा पुनः हेर्न नभ्याउने सूचीमा।
असार ६ –भरतपुरमा च्यातिएका मतपत्र, प्रहरीको तत्कालीन सञ्चारको प्रतिलिपि, मतपत्र च्यात्नेविरुद्द जिल्ला अदालतमा दर्ता मुद्दाको मिसिल सर्वोच्चमा पेस गर्न आदेश।
असार १३ –च्यातिएका मतपत्र सर्वोच्चमा पेस।
असार २३ –मुद्दाको सुनुवाइको पालो नै आएन।
असार २६ –मुद्दाको सुनुवाइ पुनः भएन।
साउन २ –न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु। मुद्दा हेर्दाहेर्दैमा। सुनुवाइ एक साताका लागि स्थगित।
साउन ८ –मुद्दा पुनः हेर्दाहेर्दैमा ।
साउन ९ –मुद्दा हेर्दाहेर्दैमा । सुनुवाइ पुनः तीन दिन स्थगित।
यसअघि न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले जेठ २२ गते ६ दिनका लागि पुनः निर्वाचनको निर्णय यथास्थितिमा राखी दुबै पक्षलाई छलफलमा बोलाएको थियो। जेठ २८ गतेदेखि दुवै पक्ष अदालतमा उपस्थित भए पनि मुद्दाको किनारा लाग्न सकेको छैन। असार ५ गते संयुक्त इजलासले भरतपुरमा च्यातिएका मतपत्र लगायतका मिसिल सर्वोच्चमा पेस गर्न आदेश दिएको थियो।
आदेश अनुसार च्यातिएका मतपत्रको पोको सर्वोच्चमा पेस भइसकेको छ। अन्य मिसिल समेत पेस भइसकेको एक महिनाभन्दा बढी भए पनि अन्तरिम आदेशसम्वन्धी निश्कर्षमा पुग्न अदालत सकेको छैन।