
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई राजनीतिक स्वार्थ र दबाबबाट मुक्त भई कार्यसम्पादन गर्न ध्यानाकर्षण गरेको छ। कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बिहीबार बिहान बसेको स्थायी समिति बैठकले सरकारको सुस्त तयारीले माघ ७ भित्रै सवै निर्वाचन सम्पन्न हुनेमा आशंका समेत व्यक्त गरेको छ।
स्याथी समिति बैठकको निर्णयमा भनिएको छ ‘सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकोले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने हो कि भन्ने आशंका पैदा भएको छ। बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।’
स्थायी समितिले जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै। मुस्ताङमा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।