PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

गुटको राजनीतिमा चिट्ठा परेपछि यसरी बने यज्ञबहादुर थापा मन्त्री



पहिलोपोस्ट

गुटको राजनीतिमा चिट्ठा परेपछि यसरी बने यज्ञबहादुर थापा मन्त्री
फोटा यज्ञबहादुर थापाको फेसबुकबाट

  • नरहरि पौड्याल
पोखराः कास्की कांग्रेसका नेता यज्ञबहादुर थापा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेपछि कास्की कांग्रेसमा खुसीयाली छाएको छ। लामो समयको राजनीतिक यात्रापछि थापा मन्त्री भएका छन्।

उनी रामचन्द्र पौडेलको समूहबाट मन्त्रीको सिफारिसमा परेका थिए। विद्यार्थी राजनीतिदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर कृयाशील थापालाई प्रधानमन्त्री देउवाले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा २०३२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएको बेला थापालाई देउवाले नेपाल विद्यार्थी संघ कास्कीको गठन गरी जिल्ला सचिवको जिम्मेवारी दिएका थिए।

२०३६ सालमा नेपाल विद्यार्थी संघको जनकपुर अधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष हुँदा थापाले केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। 

नेपाली कांग्रेस प्रतिवन्धित हुँदाको अवस्थामा २०३६ सालमा थापाले पार्टीको मुखपत्र नेपाल पुकारको लागि कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको अन्तरवार्ता लिएर चर्चामा आएका थिए। 

लामो समयदेखि निरन्तर पार्टीका लागि कृयाशील भएका थापाले कास्की कांग्रेसका नेताहरु तारानाथ रानाभाट, शुक्रराज शर्मा, महादेव गुरुङलगायतका नेताहरु ओझेलमा पर्दै गएपछि मात्र विस्तारै चर्चा र अवसर पाएका हुन्। 

रानाभाट र शुक्रराज शर्मालगायतका नेताहरुको राजनीतिक हैकम चलेको बेला थापा पार्टीको सामान्य कार्यकर्ताकै हैसियतमा थिए। कास्की कांग्रसको राजनीतिबाट रानाभाट र शर्माको सक्रियता घटेपछि थापाले नेतृत्वको अवसर पाएका थिए। 

पार्टी पूर्णरुपमा प्रतिबन्धित रहेको पञ्चायतकालमा थापाले कांग्रेसको बहुदल प्रचार समिति कास्कीको महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। 

पार्टीले थालेको सत्याग्रहको आन्दोलनमा गिरफ्तारीमा परेका थापा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली गायतका नेतासँग २०४२ सालमा सात महिना जेल बसेका थिए।

२०१९ सालमा पोखरा लेखनाथ महानगरपालिका २६ मा जन्मिएका थापा प्रजातान्त्रिक आन्दोलनमा पटक पटकको गिरफ्तार तथा जेलका जीवन बिताएका थिए। 

कास्कीको पार्टी नेतृत्वमा रहेको बेला सुरु भएको २०६२/०६३ को आन्दोलनमा थापा काठमाडौंको टुडिखेलमा प्रहरीबाट मरणासन्न हुने गरी पिटिएका थिए।  

थापा कास्की काँग्रेसको सचिव, उपसभापतिको जिम्मेवारी सम्हाल्दै १२ वर्ष पार्टीको जिल्ला सभापतिकोसमेत जिम्मेवारी सम्हालेका थिए। 
कास्की क्षेत्र नं १ बाट पहिलो संविधानसभाको निर्वाचनमा उमेदवार बनेका थापा पराजित भएका थिए भने दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए।

अचम्मको संयोग

कास्की क्षेत्र नं १ बाट २०४८ को संसदीय निर्वाचनमा निर्वाचित सांसद तारानाथ रानाभाट तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीको रुपमा नियुक्त भएका थिए।

त्यसको ठिक २६ वर्षपछि त्यही क्षेत्रबाट संविधानसभा निर्वाचनमा निर्वाचित  सांसद यज्ञ बहादुर थापा पनि उही कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन्।

एउदै क्षेत्र, एउटै पार्टी र एउटै मन्त्रालय पर्नुलाई संयोग मान्न सकिन्छ। 

उच्च राजनीतिमा खडेरी

राजधानी काठमाडौंपछि हरेक दृष्टिकोणले दोस्रो स्थानमा रहेको (पोखरा) कास्की राजनीति र उच्च नेतृत्वमा भने निकै कमजोर देखिएको छ। 

कास्कीबाट राष्ट्रिय राजनीतिमा दह्रो पकड जमाउने नेतृत्वनै देखिएको छैन। कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरुमा अहिलेसम्म क्षमतावान नेताको खडेरी देखिएको छ। 

सामाजिक चिन्तक विश्व सिग्देल कास्कीबाट केन्दीय नेतृत्वमा पुग्ने क्षमतावान नेतृत्वको अभाव खड्किएको स्वीकार्छन्।

उनी भन्छन्,‘बिडम्वना नै मान्नु पर्छ, कास्कीबाट कांगे्रस तथा बामपन्थी कोहीबाट पनि उच्च राजनीतिक नेतृत्वमा पुग्ने नेतृत्व नै देखिएन। छिमेकी जिल्ला स्याङजा र तनहुँबाट भने उच्च नेतृत्व गर्ने क्षमतावान राजनीतिज्ञ छन्।’

अहिलेसम्म कास्कीबाट ‘फुल’ मन्त्री भएका नेताहरु नै छैनन् भन्दा पनि हुन्छ, २, ३ जना बाहेक। लामो समय पछि मन्त्री बन्ने शौभाग्य पाउने मध्येमा नेता थापा पर्दछन्।

 

गुटले थापालाई लोटरी

कांग्रेस पार्टीको दीर्घरोगको रुपमा रहेको गुटगत राजनीतिमा कास्कीका सांसद यज्ञबहादुर थापालाई लटरी परेको छ। गुटगत भागबण्डा मिलाउने क्रममा पौडेल समूहबाट थापा शिफारिस भएका हुन्।

यस क्षेत्रका कांग्रसका सवै गुटका नेताहरुको नाडी छाम्दै जादा थापालाई लोटरी परेको हो।

कास्कीका रानाभाट र शर्मालगायतका नेताको सक्रियता बढ्दा राजनीतिमा फुच्चे देखिएका थापा एकाएक मन्त्री बन्लान भन्ने उनकै सहपाठीहरुलाई नै लागेको थिएन। तर, थापा एकएक मन्त्री भएपछि उनीहरु दंग छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell