
काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीको समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्यूरो बनाएर परिचालन गरिने बताएका छन्।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने भएकाले त्यसका लागि छुट्टै ब्यूरो बनाएर परिचालन गर्ने बताएका हुन्।
उनले भने, ‘ठगिएको पैसा फिर्ता नपाउँदा धेरै घरबार विहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्यूरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’
‘उक्त ब्यूरोेलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएकाहरुको समस्या समाधान गर्ने जिम्मा दिईने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरी अधिकृत पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं।’
वैदेशिक रोजगारीको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव भएको उल्लखे गर्दै गृहमन्त्री शर्माले अवैध रुपमा विदेशिनेहरुलाई रोकथाम गर्न अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको बताए।
फ्रि–भिसाको प्रावधानलाईसमेत आफूहरुले नियमन गर्न नसकेको उल्लेख गर्दै मन्त्री शर्माले भने,‘दलालहरुले त्यही फ्रि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन्।’