काठमाडौं: फिल्म दुई रुपैंयाको लागि दुई वर्षदेखि काम गर्दैछन् निर्देशक तथा निर्माता असिम शाह। फिल्मको स्क्रिप्ट लेखनबाट लोकेशन चयनसम्मको काममा शाहलाई धेरैले प्रश्न गरे 'किन लाख करोड नाम नराखेर दुई रुपैयाँ राखेको?' शाहको लागि जवाफ सरल थियो तर सस्पेन्स राख्न चाहे। शाह भन्छन्,'सबै कुरा थाहा पाउने उचित समय आउँछ।'
आज फिल्म युनिटले फिल्मको नाम दुई रुपैयाँ किन राखियो भन्ने कौतुहलता मेटाउने प्रयास गरेको बताए। भने,'ट्रेलरले केही हदसम्म फिल्मको विषय र नाम राख्नुको कारण बारे बताउँछ।' बिहिबार फिल्मको ट्रेलर साथै थप एक गीत सार्वजनिक भएको छ। भदौ २३ बाट परदर्शनमा आउने फिल्मको प्रचारमा गीत 'कुटुमा कुटु सुपारी दाना'ले निकै राम्रो भूमिका खेलिरहेको बेला युनिटले ट्रेलर साथै क्लब सङ सार्वजनिक गरेको हो।
फिल्मको ट्रेलरले दुई युवा जुरेली र दारीले पैसा कमाउन गर्ने संघर्षको कथा बोल्छ। जसमा एक्शन र क्राइम केन्द्रमा रहेको छ।
त्यस्तै फिल्मको 'ढल्क्यो जवानी' बोलको नयाँ गीतमा दुई मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहसहित मोडल सुमी मोक्तानको फिचरिङ रहेको छ।
फिल्ममा अन्य कलाकार बुद्धी तामाङ, मेनुका प्रधान, रबिन्द्र झा, राजन इशान, टिका पहारी, प्रतिक राज न्यौपाने, विशारत बस्नेत लगायतको अभिनय रहेको छ। आशिष रेग्मि, आशिफ शाह कथामाथी बनेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन्। त्यस्तै लोकेश बज्राचार्यको सम्पादन रहेको छ। जिटूवान प्रोडक्शन र ब्ल्याक हर्सको प्रस्तुती रहेको फिल्मको लगानी एक करोड १० लाख रहेको छ।