PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वीर अस्पतालले मनायो १२८ औं वार्षिकोत्सव, गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको आग्रह



रासस

वीर अस्पतालले मनायो १२८ औं वार्षिकोत्सव, गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताएका छन्। 

नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने बताए। 

नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको वीर अस्पतालले सोअनुरुपको सेवा र सुविधा प्रदान गर्न अहम् भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीले बताए। 

प्रधानमन्त्री देउवाले सरकारले अस्पताललाई विशेषज्ञ केन्द्रका रूपमा विकास गरी अझ विश्वासिलो बनाउन पर्याप्त बजेटसहित अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशभरका जनताको विश्वासिलो अस्पताल भएकाले संविधानमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने बताए। 

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीरमा भन्दा राम्रो जनशक्ति अन्य अस्पतालमा नभएकाले यहाँको उपचार उत्कृष्ट हुनुपर्ने बताए।

अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले ऐतिहासिक अस्पतालका रुपमा रहेको वीर अस्पतालले गरिब असहाय, निमुखा, मध्यम एवं अति विशिष्ट व्यक्तित्वलाई गुणस्तरीय र विशेषज्ञ सेवा दिँदै आएको उल्लेख गरे। 

उनले पहिले कर्मचारी आवास र नर्सिङ क्याम्पस रहेको भवन भत्काई १७ रोपनी जग्गामा अत्याधुनिक नयाँ सात तले सर्जिकल भवन बनाउने कार्य अगाडि बढाइएको जानकारी दिए। 

विसं १९४७ साउन १२ गते १५ शय्याबाट सञ्चालनमा ल्याएको वीर अस्पताल हाल ४६० शय्यामा विस्तार भएको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell