
काठमाडौँ : नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान खरिदका लागि सात वटा कम्पनीले आवेदन दिएका छन्।
बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रो पटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन्।
निगमको विमान लिलाम बिक्रीका लागि तेस्रो पटक साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो।
लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले यो पटक विमान कम्पनीबाहेक एजेण्ट कम्पनीले पनि आवेदन दिनसक्ने भनेर सूचना जारी गरेअनुरुप सात कम्पनीले आवेदन दिएको निगमले जनाएको छ।
कम्पनीले निगमलाई सम्पर्क गर्ने म्याद बिहीबार सकिएको र आवेदन दिएका सात कम्पनीमध्ये एक कम्पनी छिट्टै छनोट हुने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
“आवेदन दिएका कम्पनीमध्ये एक/दुई दिनभित्रै छनोट गरी लिलाम प्रक्रिया अघि बढाइनेछ”– उनले भने। निगमका अनुसार आवेदन दिने सातमध्ये दुई अन्तर्राष्ट्रिय कम्पनी छन्।
आवेदन दिने अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पोरेसन र इजरायलको एपिएस एअरपाटर्स सर्भिसेज एण्ड सप्लाइज छन्।
स्वदेशी कम्पनी तथा व्यक्तिमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वर रहेका छन्।
उक्त बोइङ दुई वर्षदेखि ग्राउण्डेड थियो । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमान अहिलेसम्म ८६ हजार ४१० घण्टा उडेको छ।
निगमको अर्को बोइङ कलसाइन ९ एनएसिबी मर्मतका लागि दुई साताअघि सिंगापुर लगिएको थियो। अब, निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयरबस ए ३२० छन् । निगमले आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस