
काठमाडौँ: तिथिका हिसाबले श्रावण शुक्ल पूर्णिका दिन मनाइने ऋषितर्पणी र रक्षाबन्धन आज मनाइएको छ। साउन २३ गते पर्ने श्रावण शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी)का दिन नै रक्षाबन्धन गरिएको हो।
२७ वर्षपछि नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने र रक्षाबन्धन गरिएको हो। देवालय तथा मठ मन्दिरमा पुगेर सर्वसाधरणले जनै फेरेका छन्।
नेपाल पञ्चाङ्ग निर्णयक समितिले चन्द्रग्रहण परेकाले नागपञ्चमीका दिन नै ऋषितर्पणी, रक्षाबन्धन र सवै उपकर्मका लागि उपयुक्त तिथि रहेको जनाएको छ।
समितिले यसअघि पनि बि.सं. १९६३, १९८२, २०२८ र २०४७ मा जनैपूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने, रक्षाबन्धन गर्ने उपकर्म गरिएको जनाएको छ।
आजै सनातन धर्म मान्नेहरुले घरघरमा नाग टाँसेर नागको पूजा गर्दैछन्। घरको मूल ढोकामा नाग टाँसेर सर्प, विच्छीलगायतका विशालु जीवहरुको पूजा गर्ने परम्परा छ। नागको पूजाले विशालु जीवहरुबाट भयबाट टाढा रहन सकिने विश्वास गरिन्छ।