
काठमाडौँ: पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका सम्वन्धमा छलफल गर्न आज सरकारले गठन गरेको वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता हुँदैछ। बिहीबार मन्त्रिपरिषदको बैठकले वार्ता टोली गठन गरेसँगै टोलीले केसीसँग भेट गरेको थियो। बिहीबार साँझको भेटपछि वार्ताको समय तय भएको हो। शुक्रबार बिहान ११ बजे दुवै पक्षबीच छलफल हुँदैछ।
डा. केसीको यो एघारौँ अनशन हो।
मन्त्रिपरिषद् बैठकले बिहीबार शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। सदस्यहरुमा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र स्वास्थ्य सचिव किरण रेग्मी छन्।
चिकित्सा शिक्षा सुधारमा विभिन्न माग राखेर डा. केसी साउन ९ गतेदेखि अनशनमा छन्। केसीले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयकमा सुधारको माग गरेका छन्। यस्तै, त्रिवि कार्यकारी परिषद्मा निहीत चिकित्सा शिक्षा अध्ययन संस्थानको अधिकार फिर्ता हुनुपर्ने माग गरेका छन्। मेडिकल कलेजको सम्वन्धन शुल्क लगायतमा माथेमा कार्यदलले दिएको सुझाव अनुसार चिकित्सा विधेयक पारित हुनुपर्ने उनको माग छ।
आइओएममा डिनको सिफारिस अनुसारका सहायक डिनहरु नियुक्त हुनुपर्ने पनि उनको माग छ। शुल्क र सम्वन्धन लगायतका निर्णय गर्न पाउने अधिकार आइओएमलाई नै फिर्ता गर्नुपर्ने पनि केसीको माग छ।
चिकित्सा शिक्षा आयोग गठन नभएसम्म मेडिकल शिक्षाको शुल्क विश्वविद्यालयले नभइ नेपाल सरकारले तय गर्नुपर्ने उनको माग छ। एमडी र एमएसको शुल्क काठमाडौँ विश्वविद्यालयको सरह २२ लाख तोकिनुपर्ने पनि उनको मागमा उल्लेख छ।