काठमाडौं: फिल्म 'ब्लाइन्ड रक्स'का लागि मुख्य पात्र श्रृष्टी केसीको रुपमा देखिंदै छिन् अभिनेत्री बेनिशा हमाल। बेनिशाको फिचरिङ रहेको फिल्मको दुई पोस्टर फिल्म युनिटले सार्वजनिक गरेको छ। मोटिभेशनल स्पिकरको रुपमा सक्रिय रहेकी दृष्टिविहिन श्रृष्टीको जीवनमाथी मिलन चाम्सले फिल्म बनाएका हुन्।
आउँदो पुस २८ गते रिलिज टार्गेट रहेको फिल्म प्रिमियर भने ५ अगस्ट मै हुने निर्माण युनिटले बताएको छ। फिल्मको वल्ड प्रिमियर लन्डनमा हुने भएको हो। निकेश लिम्बुले निर्माण गर्न गरेको फिल्ममा बैंकर अनिल केशरी शाहको पनि विशेष भूमिका रहने बताइएको छ। गौरी मल्ल, अर्पण थापा र नाजिर हुसेनको समेत फिल्ममा अभिनय रहनेछ।
बाल्यकालमै दृष्टि गुमाएकी सृष्टी अहिले उत्प्रेरणा जगाउने खालका प्रवचनमा सक्रिय छिन्। ब्लाइन्ड रक्स संस्थामार्फत उनले युवालाई जीवनप्रति आशावादी तुल्याउन काम गर्दै आइरहेकी छन्। उनको जीवनलाई पर्दामा उतार्नका लागि क्यामेरामा नबराज कृष्ण थापाले काम गरेका छन्। त्यस्तै फिल्मका लागि संगीत तारा प्रकाश लिम्बु, हरि लम्साल र कल्याण सिंहले दिएका छन्।