PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

एसएसबीको जाँचले सुनौली नाकामा ढुवानी प्रभावित, यात्रुलाईसमेत सास्ती



रासस

एसएसबीको जाँचले सुनौली नाकामा ढुवानी प्रभावित, यात्रुलाईसमेत सास्ती

लुम्बिनी : भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ। 

भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सास्ती हुन थालेको हो। एसएसबीले दशगजासम्म आई जाँच गर्ने गरेको छ। 

भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रिया प्रभावित भएको भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भूपालराज शाक्यले जानकारी दिए। जसका कारण नेपालतर्फ सामान लिएर आउने गाडी आउन सकेका छैनन्।

सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सय मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक करिब १०० देखि १५० मालबाहक गाडी मात्र भित्रिने गरेका छन्। 

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै सीमामा जाँचमा कडाइ गरिएको जनाएको छ। आउँदै गरेको भारतीय स्वतन्त्रता दिवस (१५ अगस्त) र भारत–चीन विवादका कारण जाँचमा कडाइ गरिएको बताइन्छ।

भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य सीमा नाकामा समेत निगरानी बढाएका छन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सीमावर्ती क्षेत्र सुनौलीमा ढुवानी प्रक्रिया प्रभावित हुने गरी गरिएको जाँचका विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell