PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

तिब्बतबाट फर्केपछि ओलीले भने-प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं



रासस

तिब्बतबाट फर्केपछि ओलीले भने-प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन्। 

तिब्बतको एक साताको भ्रमणबाट सकेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताए। 

अध्यक्ष ओलीले भने,’यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ।’ 

उनले अहिले मुलुक निर्वाचन केन्द्रीत भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने बताए । 

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भने, ‘राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।’ 

उनले राजपासँग सम्झौता गर्ने नेपाली कांग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाए। उनले भने,‘कांग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ।’

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा गएका थिए। त्यहाँ रहँदा ओलीले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गरेका थिए। 

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि बाटो विस्तारमा सघाउन चीन तयार रहेको बताए। उनले यसबारे आफूले सरकारलाई अवगत गराउने बताए।
रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell