PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’



सागर बुढाथोकी

तेह्रथुमदेखि भेट्न आएका किसानलाई डाक्टर केसीले भने, ‘म अहिले नै मर्दिनँ’

काठमाडौँ : चिकित्सा क्षेत्र सुधार गर्नुपर्ने माग राखेर ११ औँ पटक अनसन बसेका गोविन्द केसीको टोलीसँग सरकारले वार्ता गर्दैछ। अनसनको पाचौँ दिन डाक्टर केसीलाई सोधियो, ‘अनसन बस्दा–बस्दा दिक्क लाग्दैन?’

केसीले अनसन रहर नभएर बाध्यताको भएको बताए। नेताहरुको स्वार्थको कारण चिकित्सा शिक्षा ऐन पारित नभएकाले अनसन बस्न बाध्य भएको दुखेसो पोखे। 

'चिकित्सा ऐन पारित नभएर अपूरणीय क्षति भएको छ। जनताको लागि काम गर्ने नेताहरु नै देशद्रोही भएपछि म अनसन नबसेर के गर्नु त?’ केसीले प्रश्न गरे।

सरकारले वार्तामा बोलाएको छ। वार्ता सफल हुनेमा कत्तिको आशावादी छन् त केसी?

‘अहिलेको सरकार कुनै चमत्कार गर्ने सरकार हैन। पहिलाको जस्तै माफियामुखी सरकार हो। मान्छे तिनै हुन्। खै, वार्ता सफल हुन्छ भनेर कसरी आशा राख्नु,’ केसीले निराशा पोखे।
 
जनताको करको पैसाले नेताहरुले जनताको लागि नसोचेर माफियासँग मिलेकाले स्वास्थ्य सेवा सेवामुखी भन्दा नाफामुखी भएको डा. केसी बताउँछन्।

‘नेता सबै भ्रष्ट छन्। माफियाले देश चलाएका छन्। जनता सिटामोल खान नपाएर मरिरहेका छन्,’ केसीले भने, ‘म यो भ्रष्ट नेता र माफिया सरकारविरुद्ध माग पूरा नहुन्जेल अनसन बस्छु। ज्यान गए जाओस्। मेरो जीवनकाल भरी माग पुरा नभएपनि अनसन बस्छु।’

डाक्टर केसीको अनसन स्थलमा तेह्थुम बराङका छत्रबहादुर थापा भेटिए। आफूलाई सामान्य किसान बताउने उनी डाक्टर केसीलाई भेट्नको लागि काठमाडौँ आएको बताउँछन्। हिजो मात्र आएका थापासँग डाक्टर केसीले केही क्षण कुरा गरे।

थापाले डा. केसीलाई  भने, ‘हामी गरिब दुःखीको लागि कत्ति दुःख पाउनुहुन्छ। हामीले तपाईँलाई के गर्न सक्छौँ भन्नुस्, हामी पनि केही योगदान गर्न तयार छौँ। तर, धेरै अनसन बसेर शरिरलाई दुःख नदिनुस्।’
 
डाक्टर केसीले थापालाई जवाफ फर्काए, ‘तपाईँजस्तै ३ करोड नेपाली छोराछोरीको लागि अनसन बसेको हुँ। तपाईहरुको आशिर्वादले म अहिले नै मर्दिनँ। गरिब जनताहरुको लागि मर्नु परे पनि तयार छु।’

केसीले यसो भनिरहँदा दुवै भावुक देखिएका थिए।
 
अनसनमा रहेका केसीलाई भेट्न यो भन्दा अगाडिका वर्षहरुमा थापा पटक पटक आएका डाक्टर केसी बताउँछन् ।  

वर्षेनी केसीलाई भेट्न किन आउँछन् त उनी ?

थापा र केसी नातेदार हैनन्। उनी डाक्टर केसीलाई टिभीमा देखेको भरमा चिनेको बताउँछन्।  अनसन स्थलमा आएर पटक– पटक भेटेको सुनाउँछन्। अनसन स्थलमा बाहेक थापाले त्यो भन्दा अघिपछि डाक्टर केसीसँग भेट्ने र बोल्ने गरेका छैनन्।

‘डाक्टर केसी अनसन बसेको समाचार सुन्दा नरमाइलो लाग्छ। हामीजस्तै गरिबको लागि अनसन बसेको हुनाले उहाँलाइ भेट्न मन लाग्छ। अनि सबै काम छोडेर भेट्न आउँछु,’ थापाले भने, ‘उहाँलाई भेटेपछि खुशी र दुःख दुबै लाग्छ।’
 
थापालाई एउटै डर छ, कतै डाक्टर केसीको जीवन अनसन बस्दाबस्दै सकिने त हैन।
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell