
नवलपरासी : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँ आइरहेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
१२ जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए। बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ। रासस