PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

कपिलवस्तुमा दाइजोको निहुँमा महिलामाथि यातना, प्रहरीले सहयोग नगरेको पीडितको गुनासो



पहिलोपोस्ट

कपिलवस्तुमा दाइजोको निहुँमा महिलामाथि यातना, प्रहरीले सहयोग नगरेको पीडितको गुनासो

  • चन्द्रकान्त खनाल
कपिलवस्तुः  घरायसी  विवादका कारण   कपिलवस्तुमा एक महिलालाई कुटपिट गरि घर निकाला गरिएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई उनका श्रीमान् र ससुराले कुटपिट गरी घर निकाला गरेका हुन्। गतवर्ष ईजहार खाँका छोरा दिलसाद खाँसँग विवाह गरेकी सविनालाई कुटपिट गरि यातना दिइएको हो ।

छोरी जन्माएको भन्दै आफूमाथि यातना सुरु गरिएको उनले बताइन्। उनले भनिन्,‘छोरी जन्मिनु अघि नै छोरी जन्माइस् भने हामीलाई घाँडो हुन्छ। छोरी जन्मिए तेरो खैरियत छैन भन्दै यातना दिन्थे। मलाई त कुटपिट गरेगरे तीन महिनाकी छोरीलाईसमेत आफूसँग ल्याउन दिएनन्।’
उनले श्रीमान र ससुरा मिलेर आफुलाई ११ गते साँझ निर्घात कुटपिट गरेको बताइन्। 

कुटपिटबाट घाईते भएकी सविनालाई माइती पक्षले उपचारका लागि तौलिहवा अस्पतालमा भर्ना गरेका थिए। तर तौलिहवा अस्पतालले रिफर गरेपछि उनलाई भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराई माइती ल्याईएको छ ।

उनले आफ्नी छोरी फिर्ता गराइ न्याय दिलाइदिन अनुरोध गरेकी छन्।

एकवर्ष अघि विवाहमा बेहुला पक्षलाई आफूले ११ लाख ५० हजार भारतीय रुपैयाँ मूल्यको महेन्द्रा गाडी दिएको भएपनि दाईजो कम भयो भन्दै सुरुदेखि नै छोरीलाई यातना दिने गरेको सविनाका बाबु लईस पठानले बताए। 

स्थानीय तह निर्वाचनमा यशोधरा गाँउपालिकाको वडा नम्बर ५ को वडा अध्यक्ष निर्वाचित पठानले बिहीबार जिल्ला प्रहरी कार्यालयअन्तर्गगतको महिला सेलमा उजुरी दिएको भएपनि महिला सेलले कुनै सुनुवाई नगरेको पठानले गुनासो गरे। 

उनले केही राजनीतिक दलको दबावका कारण प्रहरीले घटना मिलाउन प्रयत्न गरेको बताए। उनले भने,‘मेलमिलापका लागि छलफल गर्नु पर्यो भनेर महिला सेलबाट खबर आएको छ। छोरीमाथि यति यातना दिएको अवस्थामा घटना मिलाउने कि मेरी पीडित छोरीलाई न्याय दिने ?’

प्रहरी नायब उपरीक्षक प्रहलाद अधिकारीले भने दुई सम्धीबीच लेनदेनको विषयमा झैझगडा भएको बताए। उनले भने,‘सविनामाथि कुटपिट भएको रहेछ दुबै पक्षलाई  नियन्त्रणमा  लिएका छौं,  अनुसन्धान भैरहेको छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell