PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

आज बाघ दिवसः के छन् बाघ संरक्षणका चुनौति ?



रासस

आज बाघ दिवसः के छन् बाघ संरक्षणका चुनौति ?

  • नारायण ढुंगाना 
चितवन : सन् २०१३ को राष्ट्रिय तथ्यांकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छन्। बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा अहिले बढेर ६२ पुगेको छ। चितवनमा आज बाघ दिवस मनाइएको छ। 

चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो। मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक र्यालीसहित कार्यक्रम गरेको थियो।

बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ। बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ। त्यसैले आजको सातौँ विश्व बाघ दिवसलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रीत भएका छन्। 

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ।

२००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ। अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ। अब लक्ष्य पूरा गर्ने नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ । 

यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्यांक निकाल्दै छन्। अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। 

बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रीत हुनुपर्छ। 

बाघ जोगाउनका लागि मुख्य समस्या चोरी शिकार हो। त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन्। 

जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउँछन् निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ। 

सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्वमै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ।

मुख्य गरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो। 

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्छन्। 

पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ। हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ। 

मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा चिरञ्जीवी पोखरेल बताउँछन्।

बाघ आफैँमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो। ‘उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भने,‘मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो।’ अब हामीले नै उ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ।  

बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउँछन्। चितवनमा समुदायसँगकै हातेमालोमा बाघ गैँडाको संरक्षण प्रभावकारी भइरहेको छ।

मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउँछन्। 

एकजना चराविज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउँछन्। समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उनले बासस्थान र आहारा प्रजाति जोगाउनु आजको चुनौती भएको उल्लेख गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell