PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कछुवा गतिमा नदी कोरिडोर निर्माण, यस्ता छन् कारण



रासस

कछुवा गतिमा नदी कोरिडोर निर्माण, यस्ता छन् कारण

  • रमेश लम्साल 
काठमाडौँ : काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन्। 


वागमती र धोबीखोला कोरिडोर बाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएरपनि खर्च हुनसकेको छैन। 

सरकारले धोबी खोला, वागमती, विष्णुमति, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण सुरु गरेको छ। खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्य बढाउनु भएपनि तोकिएको समयमा निर्माण सम्पन्न नहुनेले स्थानीयवासीलाई राहत होइन, आहात मात्रै दिएको छ। 

सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धाबीखोला कोरिडोरका कारण पानी पर्दा हिलो र सुख्खा हुँदा धुलोको मारमा राजधानीबासी परेका छन्। आयोजनाको सडक किनारमा गरी कूल २२ किलोमिटर ट्र्याक खुलेको छ। तर ट्र्याक खोलेकोमध्ये ५०० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ। 

सडकखण्डमा आयोजनाले ६ किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भएपनि आर्थिक वर्ष २०७३÷७४मा मात्रै दुई किलोमिटर सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए। 

आयोजनाको पूरै सडकखण्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएपनि हालसम्म १२ किलोमिटर क्षेत्रमा मात्रै ढल राखिएको छ।

आयोजनाका लागि आर्थिक वर्ष २०७३/७४ मा ४५ करोड बजेट विनियोजन भएको भएपनि तोकिएअनुसार काम हुनसकेन। आयोजनाका लागि थप ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयको भनाइ छ। तर मन्त्रालयले आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्र मात्रै सम्पन्न हुने जनाएको छ। 

मागअनुसारको बजेट प्राप्त भए ढल कालोपत्रे, टेवा पर्खाललगाउने कार्यसमेत सम्पन्न हुने र एउटा महत्वपूर्ण आयोजना सम्पन्न हुने मन्त्रालयको विश्वास छ।

तर स्थानीयवासीले भने सरकारले भन्दै आएअनुसार आयोजनामा प्रगति नभएकोमा गुनासो गरेको र गुनासोसमेत जायज नै रहेको सचिव शर्माको भनाइ छ। 

यस्तै लामो समयदेखि चर्चामा रहेको तर कार्यप्रगति सोचअनुसार हुन नसकेको अर्को आयोजना हो –वाग्मती कोरिडोर। आयोजनामा हालसम्म २० किलोमिटर कोरिडोर र ढल बिच्छ्याउने कार्य सम्पन्न भएको र १३ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।

नदी किनारलाई सुन्दर बनाउन, रुख बिरुवा रोप्ने कार्यका लागि मात्रै दुई अर्ब ५० करोडको ठेक्का सम्झौता भइसकेको छ। आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड विनियोजन भएकोमा ६ किलोमिटरमा ढल र कालोपत्रे गरिने सचिव शर्माको भनाइ छ। 

उपत्यकाको अर्को महत्वपूर्ण नदी विष्णुमतिको व्यवस्थापन कार्य अगाडि बढेपनि तोकअनुसारको प्रगति हुनसकेको छैन। आर्थिक वर्ष २०७३/७४ मा नै १२ किलोमिटर क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भए पनि पाँच किलोमिटर क्षेत्रमा मात्रै निर्माण सम्पन्न भएको छ। चालु आवमा सो आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ। 

नख्खु खोलामा आर्थिक वर्ष २०७३/७४ मा तीन किलोमिटर कोरिडोर खोल्नुपर्ने योजना रहेपनि सरकारी निकायले ध्यान नदिएको, निर्माण व्यवासायीले तोकिएको समयअनुसार काम नगर्दा २७२ मिटर सडक मात्रै निर्माण हुनसकेको छ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएको र सम्पन्न हुन ४५ करोड लाग्नेछ। सो आयोजनालाई पनि बहुवर्षीय आयोजनाको रुपमा राखिएको छ। 

साङ्ला खोला कोरिडोरको दुई किलोमिटर मात्रै कोरिडोरको ट्र्याक खोलिएको छ। आयोजनाका लागि आर्थिक वर्ष २०७३÷७४ मा तीन लाख ९६ खर्च मात्रै खर्च गरिएको छ। बजेट दुई करोड विनियोजन भएपनि खर्च हुनसकेन। थप बजेट माग भएको र परियोजना अगाडि बढ्ने मन्त्रालयको विश्वास छ। 

महादेव खोला कोरिडोर पनि तीन किलोमिटर मात्रै ट्र्याक खोलिएको छ। आयोजनाका लागि १७ करोड बजेट प्राप्त भए पनि १५ करोड मात्रै खर्च भएको छ। 

सडक विस्तार कछुवागतिमा 

काठमाडौँ उपत्यकामा ६६७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखिएको भएपनि हालसम्मको प्रगति केवल ५० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ।

हालसम्म ३५० किलोमिटर सडक मात्रै विस्तार भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। 

यस्तै आर्थिक वर्ष २०७३/७४ मा नै विस्तार हुनुपर्ने १३० किलोमिटर सडकसमेत स्थानीयवासीको अवरोध, अदालतको ‘स्टे अर्डर’ लगायतका कारणबाट रोकिएको छ।

रोकिएको सडक विस्तारलाई अगाडि बढाउने र २६ किलोमिटर चालु आर्थिक वर्षमा विस्तार गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ। काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि हालसम्म दुई अर्ब ९४ करोड १६ लाख १३ हजार रुपैयाँ खर्च भएको छ। 

सहरी विकास मन्त्री प्रभु साहले सडक विस्तार कार्यमा भइरहेको ढिलाइलाई कम गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न र नदी किनारका कोरिडोरको विकासमा आफूले विशेष कार्यसूचीमा राखेर काम सुरु गरेको बताए। 

मन्त्री साहले आफू नियमित अनुगमनमा रहेको, निर्माण व्यवसायीलाई जिम्मेवार भएर काम गर्नसमेत आग्रह गरेको जानकारी दिँदै अटेर गर्नेलाई कानूनअनुसार कारबाही गरिने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell