
- बुद्धिनारायण श्रेष्ठ
काठमाडौंः दोक्लम सीमा समस्या भारत र चीनको प्रतिष्ठाको लडार्इं हो। चीनले आफ्नो भूमिमा सडक निर्माणको काम गर्दा भारतले हस्तक्षेप गरेपछि त्यो समस्या उत्पन्न भएको हो। यतिमात्र होइन भारतीय सेनाले चीनले निर्माण गरिरहेको सडकमा पाल टाँगेर चीनको काममा अवरोध पुर्यायो।
बाँकी रह्यो सडक निर्माण कहाँ र कसरी हुँदै थियो भन्ने कुरा। मेरो अध्ययनमा सडक चीन र भुटानको दशगजा क्षेत्रमा निर्माण भइरहेको थियो। चीनले आफ्नो र भुटानको सीमामा सडक निर्माण गर्दा भारतलार्इ किन टाउको दुख्यो भन्ने कुरा पनि बाहिर आएको छ। भुटान, नेपाल र भारतको पनि छिमेकी राष्ट्र हो।

भुटानको परराष्ट्र र रक्षा मन्त्रालय पूर्णरुपमा भारतको अधिनमा रहेको छ। त्यसैले चीनले भुटानको सीमामा सडक निर्माण गर्दा भारतीय सेनाले हस्तक्षेप गरेको पाइन्छ। चिनियाँ सेनाले पनि भारतीय सेनाका बङ्करहरु पुरिदिएपछि तनाव उत्पन्न हुँदाहुँदै अहिले त्यो तनाव शीतयुद्धमा परिणत भएको छ।
‘हाम्रो जमिनमा निर्माण भइरहेको सडकलार्इ हस्तक्षेप गर्ने भारतीय सेना किन पस्यो, यो त चीन र भुटानको मामला हो किन भारतले खुट्टा अगाडि बढाइरहेकाे छ?’ भन्ने आरोप चीनले भारतलार्इ लगाएको छ भने भारतले चीनलार्इ भुटानको जमिन कब्जा गरेर सडक बनाउन लागेको आरोप लगाउँदै भनिरहेको छ–‘सानो कुरामा पनि चीनले हाम्रो बङकर ध्वस्त गरिदयो।’
यतिमात्र होइन चीनले भुटानको सीमामा सडक निर्माण गरेपछि भारतीय भू–रक्षाको चुनौती बढ्छ भन्ने कुरा पनि भारतले मनन् गरेर यस्तो गतिविधिमा सामेल भएको छ।
भारतले यसलाई १९६२ को युद्ध सम्झियोस्
अब हुने युद्ध सन् २०१३/१४ को जस्तो हुँदैन भन्ने कुरा चीनले पटक पटक भारतलार्इ धम्कीपूर्ण भावमा भनिरहेकै छ। भारतले सन् १९६२ मा भएको युद्ध सम्झियोस् भनेर चीनले भनिरहेको छ।
भारतीय सेनाका जनरल विपिन रावतले भने चीनसँग ‘टु एण्ड हाफ’ लडार्इँका लागि तयार रहेको बताउँदै आएका छन्। पहिले वार्ता र पछि आन्तरिक छलफलपछि लडार्इँ भनेको नै ‘टु एण्ड हाफ’ लडाइ हो यसरी आफु ‘टु एण्ड हाफ’ लडार्इँका लागि तयार भएको भनिरहेको छ।
त्यस्तै चिनियाँ सेनाका जनरल हु चियानले चीन र भारतबीच भएका विगतका युद्धहरु भारतले सम्झिनुपर्ने टिप्पणी गर्छन्।
सन् १९६२ मा भारत र चीनबीच युद्ध भइरहेका बेला संचारकर्मीसँग युद्धमा गएको सेनाको अवस्थाबारे बताउँदै तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुले भनेका थिए ‘भारतीय सेना बहादुरी के साथ पिछे हटरहें है।’
त्यसैले यस्तो अवस्था नआओस भनेर पनि भारत सजग देखिन्छ। तनावस्थलमा युद्ध सामग्री र ढुङ्गामुढा पनि प्रयोग भएको छैन तर युद्धका सामग्री भने दुबैतर्फका तयार छन्।
नेपाल सधैं चपेटामा
भारत र चीन युद्धमा नेपालले लिपुलेक भञ्ज्याङ गुमाउनु परेको थियो। भारत र चीन दुइवटा हात्ती हुन् त्यसैले दुइवटा हात्तीको माया बसे पनि दुबोलार्इ असर पर्छ र भिडन्त भए पनि दुबोलार्इ असर पर्छ। नेपालका लागि भारत र चीनको मित्रता पनि राम्रो छैन दुस्मनी पनि राम्रो छैन।
नेपाल सरकारले दोक्लम विवादबारे राष्ट्रिय धारणा अगाडि ल्याउनु पर्ने हो तर यस्तो भएको छैन।
सम्बन्धित निकाय यसबारेमा मौन छ। भारत र चीनबीच भएको दोक्लम शीतयुद्धबारे नेपाल सरकार बोल्न चाहेको पनि छैन बोल्दा पनि बोल्दैन।
वर्तमान परराष्ट्र र गृह मन्त्रालयले दोक्लम क्षेत्रमा भएको भारत र चीनबीचको तनावलार्इ मनन् गर्नुपर्छ बुद्धिजीविबाट यसबारेमा सुझाब लिनुपर्छ। कानमा तेल हालेर भने बस्नु हुँदैन।
(सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल क्रान्तिकारी विद्यार्थी संघले शनिबार आयोजना गरेको ‘चीन–भारत तनाव र त्यसको प्रभाव’ विषयक विचार गोष्ठीमा व्यक्त गर्नुभएको विचार)
प्रस्तुतीः आकाश क्षेत्री