
काठमाडौं : नेपाल विद्यालय भलिबलको कमिसनको आयोजनामा यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने भएको छ।
शनिबार नक्सालस्थित होटल क्राउनप्लाजामा कार्यक्रमको आयोजना गर्दै कमिनसनले यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता आगामी कात्तिक १२ देखि १८ सम्म काठमाडौंमा हुन गर्ने जानकारी गराएको हो।
यस्तै कमिसनले यू–१६ अन्तरविद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगिता समेत गर्ने जनाएको छ। उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ।
नेपाल भलिबल संघको समन्वयनमा कमिसनले यू–१९ बीच भलिबल प्रतियोगितामा पनि गर्ने जानकारी दिएको छ। त्यस्तै विद्यालय भलिबल कमिसनले भलिबल खेल विकासका लागी जुनियरस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले थप जिल्ला कमिटी विस्तार गर्ने जनाएको छ।
यू–१८ र यू–१६ टिम बनाउने
उमेरसमुहको प्रतियोगिता लगत्तै कमिसनले यू–१८ र यू–१६ महिला तथा पुरुष टिमको घोषण गर्ने कमिसनका अध्यक्ष रामबहादुर केसीले बताए।
सो उमेरसमूहको राष्ट्रिय टिमको प्रशिक्षणका लागी प्रशिक्षक ब्यवस्थापन गर्नेछ। उनीहरुले खेल स्तरसुधारका लागी यू–१६ र यू–१८ का अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलको आयोजनासमेत गर्ने संघका सचिव लोकेन्द्रबहादुर खड्काले जानकारी दिए।
नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई थप लोकप्रिय बनाउनका लागी नेपाल भलिबल संघको समन्वयनमा विद्यालय भलिबल महोत्सव आयोजना गर्ने जनाएको छ। कमिसनको वार्षिक साधारणसभा आगामी १६ मंसिरमा हुनेछ।
काठमाडौँ विद्यालय भलिबल कमिसनमा अधिकारी
यस्तै उक्त अवसरमा जेबि अधिकारी (दीपक) को अध्यक्षतामा १३ सदस्यीय समितिको काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसन गठन गरिएको छ।
नेपाल विद्यालय भलिबल कमिसन अन्तर्गतको काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसनको उपाध्यक्षमा रीता राई दाहाल, सचिवमा शिवप्रसाद अर्याल, कोषाध्यक्षमा प्रदीप श्रेष्ठ, सदस्यहरुमा रबिन बस्नेत, कपिल जिसी, विकास गुरुङ, हिक्मत दाहाल, रबि भण्डारी, प्रियन्का रानामगर, बद्री भटृ, गोकर्ण लिम्बु र झमककुमार कार्की चयन भए।
उनीहरुलाई नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले सपथ ग्रहण गराएका थिए।