PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भारत ३०४ रनले विजयी, स्पीनरसामु टिक्न सकेन श्रीलंका



पहिलोपोस्ट

भारत ३०४ रनले विजयी, स्पीनरसामु टिक्न सकेन श्रीलंका

दोस्रो इनिङ्समा स्पीनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिएपछि श्रीलंकालाई २ सय ४५ रनमा रोक्दै भारत पहिलो टेष्टमा ३०४ रनले विजयी भएको छ।

श्रीलंकालाई फराकिलो रन अन्तरले हराएपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता कायम गरेको छ।

दोस्रो इनिङ्समा जितका लागि ५ सय ५० रनको उच्च लक्ष्य पछ्याएको श्रीलंका भारतका स्पीनरसामु टिक्न नसक्दा अन्तिम दिन ७६.५ ओभरमा २ सय ४५ रनमा अलआउट भयो।

श्रीलंकाका लागि ओपनर दिमुथ करुणारत्नेले ९७ तथा निरोसान डिकवेलाले ६७ रन बनाए। कुशल मेन्डिसले ३६ रन जोडे। भारतका लागि आश्विन र जडेजाले ३-३ विकेट लिए भने उमेश यादव र मोहम्मद शामीले १-१ विकेट झारे। कप्तान रंगना हेराथ र अस्लेशा गुनारत्ने चोटका कारण अवसेन्ट हर्ट भएपछि भारतले दोस्रो इनिङ्समा ८ विकेट मात्र झारेर जित हात पारेको हो।

गाल्लेमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो इनिङ्समा शिखर धवन र चेतेश्वर पुजाराको शतक मद्दतमा ६ सय रन बनाएको थियो भने श्रीलंका २ सय ९१ रनमा अलआउट भएको थियो। कप्तान विराट कोहलीको शतक मद्दतमा भारतले दोस्रो इनिङ्मा ५३ ओभर खेल्दै २ सय ४० रन बनाएर श्रीलंकालाई उच्च लक्ष्य दिएको हो।

भारतले पहिलो इनिङ्समा ३ सय भन्दा बढी रनले लिड गरेपछि श्रीलंकालाई 'फलो अन' नदिई दोस्रो इनिङ्मा ब्याटिङ गरेको हो।

पहिलो इनिङ्समा १ सय ९० तथा दोस्रो इनिङ्समा १४ रन बनाएका भारतका शखर धवन 'म्यान अफ दी म्याच' घोषित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell