PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

काङ्ग्रेसमा जबर्जस्त अनुशासन पर्व चलाउन नेता केसीको माग



अनन्तराज न्यौपाने

काङ्ग्रेसमा जबर्जस्त अनुशासन पर्व चलाउन नेता केसीको माग

विराटनगरः नेपाली काङ्ग्रेसका एक नेताले आफ्नो पार्टीभित्र जबर्जस्त अनुशासन पर्व चलाइनुपर्ने माग गरेका छन्।

पार्टीमा नीतिगत, सैद्धान्तिक र व्यावहारिक विचलन आएको भन्दै पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विराटनगरका पत्रकारसितको भेटमा अनुशासन पर्वको माग गरेका हुन्।

केन्द्रीय सदस्य केसीले पार्टीभित्र तलदेखि माथिसम्म शुद्धिकरणको आवश्यकता रहेको बताए। ‘नेपाली काङ्ग्रेसभित्र जबर्जस्त अनुशासन पर्वको आवश्यकता छ। तलदेखि माथिसम्म शुद्धिकरण गर्नुपरेको छ’, नेता केसीले भने, ‘पार्टीभित्र विचलन सुरु भएको छ । यस्तो विचलन नीतिगत, सैद्धान्तिक र व्यावहारिक रूपमै छ ।’

विभाजित मानसिकता र आपसी अन्तरद्वन्द्वका कारण पार्टी संस्थागत र पारदर्शी हुन नसकेको तथा विधिसम्मत रूपमा चल्न नसकेको उनको धारणा थियो।

स्थानीय तहको निर्वाचनमा पार्टीले पहिलो स्थान प्राप्त गर्न नसकेको कारण पनि सैद्धान्तिक र व्यवहारिक विचलन नै मुख्य रहेको उनको विचार छ।

‘हो, स्थानीय तहको निर्वाचनमा हामी दोस्रो भयौँ, तर दोस्रो भएको यो पहिलो पटक होइन’, केसीको कथन थियो, ‘यसअघि २०५१ को मध्यावधि निर्वाचन, २०५४ को स्थानीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचनमा पनि हामी दोस्रो नै भएका हौँ । हामी पहिलो हुन दोस्रो भएका हौँ । पहिले पनि दोस्रो भएपछि पहिलो भएका थियौं ।’

उनको भनाइ थियो, ‘दोस्रो भयौँ भनेर अब हामीले चिन्ता होइन, चिन्तन गर्नुपर्छ । यो चिन्तनको प्रक्रिया काङ्ग्रेसमा सुरु भएको छ।’

नेपालको संविधान पूर्ण कार्यान्वयनमा नआई यसको मौलिक संरचनामा परिवर्तन गर्न नहुने उनको आग्रह थियो। तर अपरिवर्तनशील संसारको कुनै संविधान नहुने स्पष्ट पार्दै उनले राजनीतिक निकास र अग्रगमनका लागि संशोधन आवश्यक छ भने त्यसका लागि तयार हुनुपर्ने बताए।
नेता केसीले प्रदेशको र संसदीय निर्वाचन एकै पटक गर्नु उपयुक्त हुने सुझाव दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell