
पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा दुई हप्तामै सात हजार ७६४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।
आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान सुरु गरेपछि कास्कीमा मतदाताको उत्साहजनक सहभागिता रहँदै आएको छ।
पछिल्ला दिनमा भने नाम दर्ता गराउनेको भीड बढ्दै गएको देखिन्छ। साउन ११ गते ८२९ र साउन १२ गते ८६३ ले नाम दर्ता गराएका छन्।
बृद्धबृद्धा, अपांगता भएका, विदेशबाट घर फर्केका, बसाइँसराइबाट पोखरा आएका र नाम दर्ता गर्न छुट भएका मतदाता विशेष चासोका साथ पोखरा लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गर्न गराउन आएको अधिकारी सुवेदीले बताए।
साउन १५ गतेसम्म कार्यालयमा र साउन १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट तथा महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुँदैछ।
कार्यालयले सो अवधिमा त्रुटि सच्चाउने तथा ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीबाट नाम हटाउने काम पनि गर्ने बताइएको छ।
एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा असार मसान्तसम्म दुई लाख २४ हजार ८११ मतदाता संख्या थियो। रासस