काठमाडौं: फिल्म ग्याङस्टर ब्लूज युनिटले कभर गीत प्रतियोगिता आयोजना गरेको छ। फिल्मको दुई साता अघि सार्वजनिक गीत 'अजम्बरी लाउँला पिरती' बोलको गीतको कभर गायन प्रतियोगिता फिल्म युनिटले शनिबार अफिसियल पेजमार्फत घोषणा गरेको हो।
महिला र पुरुषको लागि एउटै प्रतियोगिता घोषणा भएको हो। आइतबार ओएसआर डिजिटलले महिलाको लागि मेल भोइस सहितको ट्र्याक र पुरुषको लागि फिमेल भोइस सहितको ट्र्याक अपलोड गर्ने फिल्म निर्देशक हेमराज बिसीले जानकारी दिए। भने,'ट्र्याक बाहेक आफै इन्स्ट्रुमेन्टको प्रयोगमा पनि भिडियो बनाउन सक्नेछन्।' प्रतिस्पर्धामा जित्नेले एक लाख रुपैंया पुरस्कार प्राप्त गर्नेछ।
सहभागी हुन चाहनेले गीत गाएर भिडियो सहित युट्युबमा अपलोड गर्न पर्नेछ। अपलोड गरेको गीतको लिंक ग्याङस्टर ब्लूजको अफिसियल फेसबुक पेजमा मेसेज पठाउन पर्ने र आफ्नै फेसबुक वालमा पाँच साथीलाई ट्याग गरेर पोस्ट गर्न पर्ने बताइएको छ। उत्कृष्टले एक लाख नगद पुरस्कार साथै अन्य १० लक्की प्रतिस्पर्धीले फिल्मको प्रिमियरको दुईवटा टिकट प्राप्त गर्नेछन्।
यसअघि प्रदर्शनरत फिल्म प्रेमगीत २ ले पनि कभर गायन प्रतियोगिता आयोजना गरेको थियो।