PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पूर्वपरराष्ट्रमन्त्री महत भन्छन्– भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो 



रासस

पूर्वपरराष्ट्रमन्त्री महत भन्छन्– भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो 

काठमाडौँ : पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतद्वारा शनिबार साँझ नयाँदिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल–भारत सम्बन्ध’ विषय गोष्ठीलाई सम्बोधन गर्दै महतले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकासका चुनौती रहेको बताए।

उनले भने,‘हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पहुँच र विस्तारका लागि एक भूपरिवेष्ठित देशका नाताले हामी छिमेकी भारतसँग स्वभाविक रुपमै सहयोगको अपेक्षा राख्दछौँ र उसले हाम्रा समस्यालाई स्वभाविक रुपमै मनन गरिदियोस् भन्ने चाहन्छौँ।’ 

महतले भारतले आफ्नो विकास र समृद्धिमा एक छिमेकीको नाताले नेपालको विकास, समृद्धि तथा स्थायित्वलाई पनि नबिर्सिन आग्रह गरे।

खुला सिमाना रहेका दुई छिमेकी मुलुकको सम्बन्ध निकै पुरानो भएको मात्र नभई हाम्रो संस्कार, परम्परा र अरु पनि धेरै कुरामा समानता रहेको प्रसंग उल्लेख गर्दै महतले सार्क, बिम्सटेकलगायत अन्तर्राष्ट्रिय संस्थाबाट पनि हामीले साझा चासो र विषयमा अन्तर्राष्ट्रिय मञ्चमा एकै आवाजका साथ काम गर्दै आएको बताए। 

भारतको स्वतन्त्रताका लागि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले पनि योगदान पुर्यायनुभएको तथा नेपालमा प्रजातन्त्रका लागि भएका कतिपय अभियानमा भारतको सहयोग रहेकाले पनि दुई देशको राजनीतिक सम्बन्ध र समानता रहेको उनले बताए। 

विश्वको एक उदीयमान अर्थतन्त्र भारतले कसरी प्रजातन्त्र र विकास साथसाथै अघि बढ्छ भन्ने उदाहरण संसारमै प्रस्तुत गरेको बताउँदै महतले नेपालले पनि पछिल्लो समयमा आवधिक निर्वाचन र समावेशी प्रजातन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको स्पष्ट पारे।

उनले भने,‘हामीले हालै सम्पन्न गरेका निर्वाचनमा स्थानीय तहका करिब २५ हजार प्रतिनिधि छानिएका छन् र तीमध्ये ४० प्रतिशतभन्दा बढी त महिला छन् । त्यस्तै दलित, जनजाति एवं समाजमा सीमान्तकृत वर्गका नागरिक पनि यो निर्वाचनमा ठूलो संख्यामा निर्वाचित भएका छन्।’ 

अब नेपालका सामु प्रदेश र केन्द्रीय तहको निर्वाचन सपन्न गर्ने दायित्व रहेको र नेपालको वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकार र सबै राजनीतिक दल यसका लागि जुटिसकेको जानकारी गराउँदै कांग्रेस नेता महतले एक छिमेकीका नाताले नेपालको यो प्रजातान्त्रीकरण प्रक्रियामा भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै भएको बताए।

कार्यक्रममा भारतीय कानुनमन्त्री रविशंकर प्रसादले नेपालको एक असल छिमेकीका रुपमा रहेको भारत सदैव समृद्ध र प्रजातान्त्रिक नेपालको पक्षमा रहेको बताएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell