PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बाबुरामलाई आफ्नै सहयात्रीको प्रश्न: चुनावी पराजयको नैतिक जिम्मेवारी किन नलिएको?



सूर्य खड्का

बाबुरामलाई आफ्नै सहयात्रीको प्रश्न: चुनावी पराजयको नैतिक जिम्मेवारी किन नलिएको?

एकातिर आफूले चाहेको संघीय समाजवादी फोरमसँगको पार्टी एकता अभियान अन्तिम समयमा तुहिएको र अर्कोतिर आफैले छोडेको माओवादीले पार्टीमा फर्कन आह्वान गरिरहेका बेला डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आन्तरिक विवाद पनि चर्केको छ।

स्थानीय तहका दुई चरणका चुनावमा अनपेक्षित पराजय व्यहोरेको नयाँ शक्ति पार्टीमा चुनावी पराजयको सवालले नैतिक प्रश्न उठाएको छ। र, यो नैतिक प्रश्नमा सिधा दागिएका छन, संयोजक डा. बाबुराम भट्टराई, त्यो पनि आफ्नै सहयोद्धा तथा प्रवक्ता खिमलाल देवकोटाबाट। 

पार्टीका संस्थापक नेता मध्येका एक खिमलाल देवकोटाले संयोजक डा. भट्टराईले चुनावी पराजयको नैतिक जिम्मेवारी नलिएको दोषारोपण गर्दै पदीय जिम्मेवारीबाट राजीनामा गरेसँगै यो विवाद सार्वजनिक भएको हो।

पूर्व माओवादी नेताहरुको बाहुल्य रहेको नयाँ शक्तिमा तत्कालीन माओवादीको पराजयमा अध्यक्ष प्रचण्डमाथि उठाइएको नैतिक प्रश्न अहिले आफैमाथि आई परे पनि संयोजक डा. भट्टराईले भने त्यो तथ्य पार्टीको केही दिन अघि सम्पन्न संघीय परिषद् बैठकमा सो कुरा गुपचुप राखेका थिए। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो विषयमा मौनता देखाएका थिए।

तर पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख खिमलाल देवकोटाले हिजो प्रचण्डमाथि औँला उठाउने डा. बाबुराम अहिले आफै प्रचण्ड जस्तै पदलोलुप देखिएको आरोप लगाएका छन्।


संयोजक डा. बाबुराममाथि खिमलालका आरोप

चुनावी पराजयको जिम्मा नलिने संयोजक डा. भट्टराईमाथि आक्रामक रुपमा नेता देवकोटाले लेखेका छन,  नैतिक जिम्मा संयोजकका नाताले बाबुरामजीले नै लिनुपर्थ्यो तर लिनुभएन। अरुको त कुरै भएन। उल्टो पदाधिकारी बनाउन कस्सिनुभो। 

त्यसपछि आफूले पार्टीको तर्फबाट जिम्मा लिन पर्छ भनेर ६ बुँदे लिखितसहित पार्टी हैन प्रवक्ता पद परित्याग गरेर राजीनामाबारे बैठकमा जानकारी गराइदिन आग्रह गर्दा पनि आफ्नो पत्र हालै सम्पन्न पार्टी बैठकमा नसुनाइदिएको गुनासो पनि नेता देवकोटाको छ। शुक्रवार नेता देवकोटा पत्रकार सम्मेलनमा पनि देखिएका थिएनन्। 

प्रवक्ता देवकोटाको थप आरोप छ, २०७० सालको निर्वाचनमा आफू संलग्न रहेको पार्टी पहिलोबाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिन पर्छ भनियो। निकै जोड गरियो। नयाँ शक्तिको खाचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो। तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहीँ न कहीँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसूस भै मैले नैतिक जिम्मेवारी लिँदै पार्टी प्रवक्ता, संचार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निष्कर्षमा पुगेको छु।

आफूले अनौपचारिक छलफलमा व्यक्त गरे अनुसार नै संघीय परिषद बैठकमा राजीनामा सुनाउन संयोजक डा . भट्टराईलाई अनुरोध गरेको तर जानकारी नगराइएकोले सामाजिक संजालमार्फत् सार्वजनिक गर्नु परेको पनि नेता देवकोटाले उल्लेख गरेका छन्।

नयाँ शक्ति गठनदेखि नै काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भएको पीडा पनि आफ्नो ६ बुँदे राजीनामा पत्रमा नेता देवकोटाले मार्मिक रुपमा उल्लेख गरेका छन्।

नेता देवकोटा लेख्छन्, पार्टी घोषणा लगत्तै जनतामा जानुपर्नेमा आरम्भदेखि नै पार्टी उल्टो बाटो हिँड्न शुरु गर्यो । रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। बाँकी छुटे। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौँ। बबरमहलबाट पनि तीन सहसंयोजक लिएर संयोजकज्यु पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो। त्यसपछिको लगभग ८० प्रतिशत समय परिषद् सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र बढुवा गर्ने ध्यानमा नै प्राय बैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आएँ तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो। 

भविष्य खोजीको स्वभाविक कदमः डा. केसी

राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी चाहि नयाँ शक्तिका प्रवक्ता देवकोटाको राजीनामा पार्टी, नेता र नीतिको भविष्य नदेखेको अर्थमा रणनीतिक चतुर्‍याईँको स्वभाविक कदम भएको अर्थ लगाउँछन्।

पहिलोपोस्टसँगको कुराकानीमा डा. केसीले भने,   यो खिमलालजीको मात्रै राजीनामाको कुरा होइन, नयाँ शक्ति पार्टीको नीति, विचार र भविष्य नै नदेखेर त्यहाँबाट उम्कनका लागि उनले लिएको यो स्वभाविक कदम हो। जुन पार्टीको भविष्य देखिँदैन, त्यहाँ नेता, कार्यकर्ता क्रमशः यसैगरी एक एक वटा बहाना बनाएर अलग हुन खोज्छन्। मैले गठन अघिदेखि नै नयाँ शक्तिको भविष्य छैन भन्दै आएको हुँ। त्यो अहिले प्रमाणित भएको छ।

आफ्नो राजीनामामा प्रवक्ता देवकोटाले पार्टी संयोजक डा. भट्टराईको नामै किटेर उठाएको नैतिक प्रश्न भने सही भएको विश्लेषक डा. केसीको तर्क छ। डा. केसीले भन्छन,  पहिलो संविधान सभा चुनावमा एमाले हारेपछि माधव नेपालले पनि नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा दिएकै हुन्। बाबुरामले पनि माओवादीमा रहँदा पार्टी पराजयको नैतिक जिम्मा लिएर राजीनामा गर्न प्रचण्डलाई दबाब दिदै आएका थिए। तर अहिले आफै स्थानीय चुनावी परिणाममा नराम्रोसंग हार्दा चाहि नैतिकताको कुरामा चुप लागेको देखियो। कुरा त ठीकै हो नि। हारको जिम्मेवारी त नेतृत्वको नै हो। तर बाबुराम कुनै नैतिक भ्यालुका नेता हुन र? उनबाट नैतिक जिम्मेवारीको अपेक्षा गर्नु नै बेकार हो। 

पार्टीको पद र जिम्मेवारी छोडे पनि नयाँ शक्ति निर्माणमा निरन्तर लाग्ने दाबी गर्दै संयोजक डा. भट्टराईप्रति नैतिक प्रश्न तेर्स्याउने प्रवक्ता देवकोटाकै राजीनामाको नियतमाथि भने विश्लेषक तथा प्राध्यापक डा. केसीको भने आशंका छ। उनी भन्छन्,  उनले पनि पहिले आफ्नो राजनीतिक भविष्य कहाँ सुरक्षित छ भनेर पक्का गरेपछि मात्रै यो कुरा उठाएका हुन्। मलाई लाग्छ, उनको प्रचण्डसँग एकताको कुरा अघि बढेको होला। हामी कहाँ नेताहरुको राजनीति सेवा होइन, पेशा हो। पेशा, पैसा र पदका लागि गरिने राजनीतिमा उनले आफनो भविष्य सुरक्षित हुने स्थान पक्का गरेर मात्रै बाबुराममाथि नैतिक प्रश्न उठाएका हुन।

नैतिकता कि पलायन पथ?

नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख  देवकोटा जनयुद्धकालदेखि पहिलो संविधान सभासम्म नयाँ संविधान बनाउन खेलेको भूमिकाका कारण परिचित पूर्व माओवादी हुन्। हाल नयाँ शक्तिमा डा. बाबुरामसँगै सक्रिय उनले पदबाट राजीनामा दिएर पलायन हुन खोजेका हुन् कि साँच्चै नैतिकता देखाएका हुन् भन्ने चाहि सन्देहास्पद छ। 

भन्नलाई स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएको दाबी गरे पनि यो पार्टी खिया पर्दै गएपछिको आन्तरिक छटपटीको रुपमा प्रकट भएको छ। संयोग भन्ने कि भवितव्य, संघीय परिषद् बैठकले पार्टीका सबै कमिटी संरचनाहरु भंग गर्ने निर्णय लिदै गर्दा स्वतः पदमुक्त हुने परिस्थितिको मुखैमा साउन १० मा प्रवक्ताले नैतिकतासँग जोडेर पद त्याग गरेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी नेपालमा सहभागी भएका देवकोटाले पार्टी गठन भएदेखि नै उल्टो बाटोमा हिँडेको बताएर आफ्नै संयोजकको राजनीतिक बाटो नै गलत भएको भन्दै आक्रोश पनि पोखेका छन्। ’रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवकोटाको यो भनाईले नयाँ शक्ति नाममा नयाँ तर काममा पुरानो भएको पुष्टि पनि गर्दछ। 

प्राध्यापक डा. सुरेन्द्र केसी कै शव्दमा यी सबै दृश्यहरु नयाँ शक्तिको पलायनका संकेत हुन्। तथापि हालै संघीय परिषद बैठक सम्पन्न गरेर नयाँ शक्तिले पार्टीलाई नयाँ जीवन दिने कोशिस भने गरेको छ। 

यसबारे नेताहरुका मत फरक-फरक भए पनि पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई भने ठूलै चोट हो। किनभने बाह्य आलोचकहरुको निरन्तर तारो बन्दै आएका उनलाई अहिले युद्धकालदेखिका सहयोगी देवकोटाले नै चोट थपिदिएका भने पक्का हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell