काठमाडौं: नेपाली फिल्मका तीन गीत सुर्केथैली खै, पूर्व पश्चिम रेल र कुटुमा कुटुमा कुटु सुपारी दानाले करोड भ्यूज कटाएसँगै चर्चामा आए गीतकार तथा संगीतकार राजनराज सिवाकोटी। उनकै शब्द, संगीत तथा स्वरमा प्रोडक्शनको फेजमा रहेको फिल्म रुद्रप्रियाको लागि नयाँ गीत सार्वजनिक भएको छ। 'मेरो माया छ भने' बोलको गीत भिडियो बिना युट्युबमा सार्वजनिक भएको हो।
आउँदो कात्तिक २ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीतमा राजनराजसँगै मेलिना राईले स्वर दिएका छन्। गीतमा राजन इशानको एरेञ्ज रहेको छ। सात वर्षपछि एकसाथ फिल्ममा देखिन लागेका रेखा थापा र आर्यन सिग्देलको रुद्रप्रियामा मुख्य भूमिका रहेको छ।
फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्। सरस्वती थापा र रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई संजय लामाले खिचेका हुन्। सार्वजनिक गीतको भिडियो साउन १८ गते रिलिज हुने जानकारी फिल्म युनिटले दिएको छ।
सुन्नुस् गीतको अडियो: