PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अष्ट्रेलियामा विमान खसाल्ने आतङ्कवादी योजनालाई प्रहरीले निस्तेज बनायो, ४ जना गिरफ्तार



रासस

अष्ट्रेलियामा विमान खसाल्ने आतङ्कवादी योजनालाई प्रहरीले निस्तेज बनायो, ४ जना गिरफ्तार
फोटो श्रोतः theguardian.com

सिड्नी : अष्ट्रेलियाको राजधानी सिड्नीमा एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनालाई प्रहरीले निस्तेज पारिदिएको छ। 

अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले प्रतिआतङ्कवाद प्रहरीले सो योजना अगावै त्यसबारेमा पत्ता लगाएको र विमान खसाल्ने एउटा योजनालाई विफल बनाइदिएको जानकारी दिए। 

गएराति उनीहरुले यस्तो योजना बनाएर त्यसमा संलग्नहरुको खोजी गरेका थिए। प्रहरीले त्यसमा संलगन भएको आशङ्कामा सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेर केहीलाई पक्राउ गरेको छ। आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको छ। 

यस विषयमा अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानकर्ताहरुले उक्त हमलाको तयारीमा विष्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका छन्। 

आतङ्कवादी हमला सार्वजनिक भएपछि अष्ट्रेलियाका सबै विमानस्थलहरुमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। अष्ट्रेलियाको प्रहरीले विष्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई विष्फोट गराउन लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको छ। 

प्रधानमन्त्री टर्नबुलले आतङ्कवाद विरोधी कारबाहीअन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने जानकारी दिए। 

सम्भावित आक्रमणको बारेमा भने प्रहरीले केही बताएको छैन। त्यसको जोखिम कत्तिको थियो एवम् खसाल्न खोजिएको भनिएको सो विमान अन्तर्राष्ट्रिय उडानको थियो कि राष्ट्रिय उडान भन्ने बारेमा पनि स्पष्ट नभएको बताइएको छ। 

प्रधानमन्त्री टर्नबुलले यात्रुहरुलाई धैर्य धारण गर्न आग्रह गरेका छन्। उनले आत्मविश्वासका साथ कामगर्न सबै सुरक्षाकर्मी र काममा जाने सबै नागरिकलाई पनि आग्रह गरेका बताइएको छ। 

अष्ट्रेलियामा यसअघि पनि आतङ्कवादी हमलाको प्रयास भएको बताइएको थियो। आतङ्कवादको हमलाको जोखिम रहेको भनी यसअघि पनि समाचार आएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell