PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

२ हजार बालबालिका बेपत्ता, हराउनेमा बालकभन्दा बालिका बढी



सविन ढकाल

२ हजार बालबालिका बेपत्ता, हराउनेमा बालकभन्दा बालिका बढी

काठमाडौः गत बिहीबार काठमाडौंको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बेपत्ता भए। 

दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिए। बालक हराएको तीन दिन बितिसक्दा पनि कुनै पत्तो लागेको छैन। वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौर बालकको खोजी भइरहेको बताउँछन्। 

बालक विशाल चौधरी त एक प्रतिनिधि पात्र मात्र हुन्। देशभरबाट वर्षेनी दुई हजारभन्दा बढी बालबालिका हराउने गरेका छन्। हराएका मध्ये पनि ‌औसत ४० प्रतिशत मात्र बालबालिका फेला पर्ने गरेका छन्। 

अहिले पनि देशभरमा २ हजार ५२ बालबालिकाका हराइरहेका छन्। हराउनेको सङ्ख्या अझै धेरै हुन सक्ने बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख डिएसपी विश्वराज खड्का बताउँछन्। 

उनी भन्छन्, 'सबै रिपोर्ट हामी कहाँ पनि आउँदैनन्। कति त स्थानीय प्रहरी कार्यालय नै खोजतलास गर्छ र हामीलाई जानकारी नै दिँदैनन्।' 

हराउने संख्या दोब्बरले बढ्यो 


चालु आर्थिक वर्ष २०७३/७४ मा देशभरबाट २७ सय ७२ जना बालबालिका हराएको उजुरी बालबालिका खोजतलास समन्वय केन्द्रमा परेको छ। यसरी हराउनेमा बालिकाको संख्या धेरै रहेको छ। १ हजार ७ सय २५ बालिका हराएका छन्। 

हराउने बालकको संख्या १ हजार ४७ रहेको छ।  हराएका मध्ये २ हजार ५२ जना बालबालिकामात्र फेला परेका छन्। 

यसरी फेला पर्नेहरुमा ३ सय ५३ बालक र ३ सय ६७ बालिका रहेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख डिएसपी विश्वराज खड्का बताउँछन्। 

गत वर्षभन्दा बालबालिका हराउनेको संख्या दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७२/७३ मा  देशभरबाट १५ सय २ बालबालिका हराएको उजुरी पर्यो७। तीमध्ये ४ सय ८ जना मात्र फेला गरे। 

आर्थिक वर्ष २०६९/७० मा १४ सय ५३ जना बालबालिका हराए, ८ सय २३ मात्रै भेटिए। आव २०७०/७१ मा उजुरी दिनेको संख्या ८ सय ३७ मात्र थियो। उजुरीको संख्या कम भए पनि बालबालिका भने त्यो वर्ष ४ सय ६३ जना फेला परे।
 
आव २०७१/७२ मा आइपुग्दा हराउने बालबालिकाको संख्यामा कमी आयो। देशभरबाट ७ सय ८६ जना बालबालिका हराए। ३ सय ९ जना फेला परे पनि अझै ४ सय ७७ जना बेपत्ता नै छन्।

हराउनेमा बालिका बढी,  रेष्टुरेन्ट, होटेलमा प्रयोग

वर्षेनी हराउने बालबालिकामा बालिकाको संख्या बढी रहेको छ। यो वर्ष हराएका बालबालिकामध्ये गत आर्थिक वर्षमा १३ सय ५८ जना बालिका रहेका छन्। हराउने बालकहरुको तुलानामा यो दोब्बरले बढी हो। 

आर्थिक वर्ष २०७३/७४ मा ६ सय ९४ जना बालक मात्र हराएका छन्। मध्यमाञ्चलबाट नै सबैभन्दा बढी बालिका हराउने गरेको तथ्थांकले देखाउँछन्। 

यसरी हराउने बालिका १४ देखि १८ वर्ष उमेर समूहका बढी रहेका छन्। 

बालिकाको उमेर बढेसँगै राम्रो लगाउने, राम्री हुने चाहना बोकेर घर छोडेर जाने गरेको समन्वय केन्द्रका प्रमुख खड्का बताउँछन्। उनी भन्छन्, 'यसरी हराएका बालिका मध्ये अधिकांश होटेल रेष्टुरेन्टमा काम गर्ने गरेको अनुसन्धानमा देखिएको छ।' 

यसरी हराएका बालिकामध्ये केहीलाई केरुङ नाकामा संचालित होटेल लज अनि भारतिय सीमावर्ती होटलहरुमा देहव्यापारमा समेत लगाइने गरेको अनुसन्धानमा देखिएको छ।

किन भेटिँदैनन् बालबालिका ?

वर्षेनी हराउने बालबालिकाको संख्या बढ्दै गए पनि भेटिने बालबालिकाको संख्या न्यून रहेको छ। आर्थिक वर्ष २०७३/७४ को तथ्यांकलाई नै हेर्ने हो भने भने हराएका मध्ये २५ प्रतिशत बालबालिका मात्र हराएका छन्। 

७५ प्रतिशत बालबालिका कहाँ छन्? किन भेटिँदैनन्? 

बालबालिका समन्वय केन्द्रका प्रमुख खड्का यसरी भेटिने बालबालिकाको संख्या कम हुनुमा भेटिएपछि परिवारले जानकारी नदिने र आफूहरुले पनि फलोअप नगर्नु कारण रहेको बताउँछन्।  


 
 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell