
काठमाडौंः महानगरीय प्रहरी बृत्त गौशालाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले आइतबार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन्।
कार्यक्रममा भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको बताए।
उनले शान्ति सुरक्षा, अपराध रोकथाम र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको भएपनि अपराध समाजकै व्यक्तिले गर्ने, त्यसको असर समाजलाई नै पर्ने र अपराधी समाजमै लुकेर बस्ने भएकाले समाजको सहयोग र सहकार्य विना शान्ति सुव्यवस्था कायम गर्न नसकिने बताए।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष रघुनाथ पुरीले जनताको सेवा र शान्ति सुरक्षामा खटिने प्रहरीका निम्ति भवन निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए । विभिन्न व्यक्तिको सहयोगमा २२ लाख ७ हजार २ सय ६२ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।