काठमाडौंः साझा प्रकाशनका कर्मचारी एवं पूर्वकर्मचारीले महाप्रवन्धक डोलेन्द्रप्रसाद शर्मालाई भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
साझा प्रकाशनले आफूविरुद्ध उठेका सवाल र लामो समयदेखि हुन नसकेको लेखापरीक्षणको अवस्थाबारे स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा कर्मचारीहरुले साझा प्रकाशनबाट प्रकाशन हुनुपर्ने पुस्तकहरु अन्य बाहिरी प्रकाशनलार्इ बेच्नुका साथै अन्य विविध कुरामा अनियमितता गरेको आरोप लगाएका हुन्।
पत्रकार सम्मेलनमा साझा प्रकाशनका कर्मचारी रामशरण अधिकारीले लामो समयसम्म तलब नपाएको गुनासो गर्दै साझाका अध्यक्षले गाडी चडेर हिंडेको र महंगा कफी हाउसमा समितिको बैठक राख्ने गरेको आरोप लगाए।
त्यस्तै, यस विषयमा साझा प्रकाशनका अध्यक्ष एवं महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले आफूले कुनै किसिमको आर्थिक अनियमितता र पदीय दुरुपयोग नगरेको बताए।
उनले भने, ‘साझा प्रकाशन डुबेकै बेला म त्यहाँ अध्यक्ष भएर आएको थिएँ। मैले साझालार्इ माथि उठाउन धेरै कोसिस गरेको छु। मेरै पहलमा सरकारले साझाका लागि बजेट दिएको हो।’
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी पुर्याइरहेको आरोप कर्मचारीले लगाएका छन्। तर शर्माले कुनै पनि रुपमा त्यस्तो काम नगरेको बताएका छन्।
शर्माले कक्षा ११ र १२ मा पढाइ हुने‘सबैको नेपाली’ र ‘एक चिहान’, ‘लिंक इङ्लिस’ पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको कर्मचारीको आरोप छ।