काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार गर्न सरकारबाट आवश्यक सबै सहयोग उपलव्ध हुने बताएका छन्।
आइतबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोगका पदाधिकारीहरुसँगको बैठकमा प्रधानमन्त्रीले आयोगलाई २४ सै घण्टा सहयोग गर्न तयार रहेको बताए।
प्रधानमन्त्रीले भने,‘तपाईँहरु तोकिएकै समयभित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईँहरुलाई सरकारबाट चाहिने आवश्यक सहयोग २४ सै घण्टा दिन तयार छ।’
प्रधानमन्त्रीले माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गरे ।
सरकारले गतासाता २१ दिनको समय अवधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थिया । आयोगले गत साउन ११ गतेदेखि काम सुरु गरेको छ।
आयोगका पदाधिकारीले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरि छिट्टै विराटनर, जनकपुर, वीरगंज, पोखरा, नेपालगंज, सर्खेत र धनगढीमा अध्ययन टोली खटाउने तयारी गरिरहेको जनाएको छ ।