
जाजरकोट: भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दार कमल सुनारलाई जाजरकोट जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेको छ।
जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको एकल इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो। कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए पनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश अधिकारीले बताए।
गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिकाको हत्या भएको थियो। लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी हवल्दार कमल सुनारविरुद्ध गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा गत फागुन २० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। रासस