
काडमाडौं : नेपालमा कति खेल खेलिन्छ सायद कमैलाई थाहा होला अर्थात त्यसको कुनै हिसाबकिताव छैन। यहाँ खेलको संघ गठन गर्ने र त्यसलाई राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता गर्नेको कुनै लेखाजोखा छैन। खेल संघ दर्ता गर्ने कुनै निश्चित मापदण्ड छैन।
गत जेठमा भलिबलले राष्ट्रिय खेलको मान्यता पायो। भलिलबसँगै फुटबल र क्रिकेट नेपालका दुई सबैभन्दा चर्चित खेल हुन्। तर दुवै खेलको संघ स्वच्छ रुपमा चल्न सकेको छैन। नेपाल क्रिकेट संघ क्यानलाई त आइसीसीले निलम्वनमै राखेको छ भने अखिल नेपाल फुटबल संघ एन्फा आन्तरिक विवाद र लिग गर्न नसकेका कारण आलोचित छ। यस्तो अवस्थामा नयाँ/नयाँ खेल संघको गठन हुनुको आचित्यमाथि समेत प्रश्नचिन्ह खडा हुन सक्छ।
केहीले नियमित प्रतियोगिता सञ्चालन गरेपनि गरेपनि अधिकांश खेल संघ देखाउनकै लागि मात्र र पदाधिकारीको विदेश भ्रमणमा सिमित हुन्छ।
अधिकांश खेल संघको जिल्ला संघ समेत छैन।
तर नेपाली खेलाडी र खेलकुदको विकास लागि काम गर्ने संस्था राखेपकै सदस्य सचिव भने धेरै संघले फरक नपार्ने र संघ बनेपछि खेलाडी हुने र उनीहरुले पदक पनि जित्ने भन्दै भाषण गर्छन्।
गत शुक्रबार राखेपका सदस्य सचिव केशव कुमार विष्टले धेरै खेल संघ दर्ता भएर कुनै फरक नपर्ने प्रतिक्रिया दिएका थिए। त्यसको दुई दिनपछि आइतबार क्योकुसिन काइकान संघ नामक नयाँ खेल संघ १८९औं खेल संघको रुपमा राखेपमा दर्ता भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित सेमिनार तथा डान ग्रेडिङ परीक्षाको कार्यक्रममा विष्टले भनेका थिए, ‘परिषद्मा धेरै खेल संघ दर्ता भएर केहि फरक पर्दैन। हामीले बुझ्नु पर्ने यति मात्र हो कुन खेललाई कति प्राथमिकता र अनुदान दिने हो। दर्ता भएका सबै संघका खेलाडी हुन्छन्। कम्तीमा ति खेलाडीहरु खेलमा इंगेज भएपछि कुलत र गलत संगतमा फस्दैनन्। अनुशासनमा बस्छन् र राष्ट्रका लागि पदक पनि ल्याउछन्। त्यसैले मलाइ लाग्छ धेरै खेल संघ दर्ता गरेर केहि फरक पर्दैन।’
तर २०७३ साल जेठ ३२ गते सक्रिय रुपमा कायम गर्न नसकेको भन्दै ७ खेलसंघलाई खारेज गरेको थियो।
यस्तै २०७४ बैशाख २१ गते पनि राखेपले निष्कृय रहेका १० खेल संघलाई खारेज गरेको थियो।
मुख्यगरी, फुटबल, भलिबल, क्रिकेट, मार्सल आर्टस्, एथ्लेटिक्स, स्विमिङ, ब्याडिमन्टन, टेबलटेनिस, चेस र केही एड्भेन्चर स्पोर्टस्का खेल बाहेक अन्य खेल संघले नियमित प्रतियोगिता गरेको पाईँदैन।
१८९औं खेल संघ
इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान संघ नेपाल १८९औं संघका रुपमा आइतबार दर्ता भएको हो।
नुवाकोटका राजु थापाको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय तदर्थ समिति दर्ता गरिएको हो। उपाध्यक्षत्रयमा ललितपुरका अशोकलाल लामा, दीपक न्यासुर लामा र इन्द्र तामाङ छन् भने महासचिवमा काठमाडौंका सानु लामा, सचिवमा मकवानपुरका कान्छालाल वाइबा र कोषाध्यक्षमा दोलखाकी सुजाता थापा रहेका छन्।
यसैगरी सदस्यमा ललितपुरका राजु तामाङ, काठमाडौंका विशाल वाइबा, काभ्रेका लसी तामाङ, काठमाडौंका राम लामा, काठमाडौंका विमल थापा, जनकपुरका राजन गहतराज, ललितपुरका अशोक बस्नेत, ललितपुरकी बसन्ती घलान, ललितपुरकी शान्ति घलान तामाङ, काभ्रेका बालकृष्ण मगर, नुवाकोटका प्रकाशराज थापा, नुवाकोटका मन्जुर तामाङ, ललितपुरका सुगतरत्न शाक्य, नुवाकोटका सतीशराज थापा, काभ्रेका राजु तामाङ, ललितपुरका विष्णु महर्जन, ललितपुरका किशोर दर्शन तथा राखेपबाट २ प्रतिनिधि छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अध्यक्ष थापालगायतका पदाधिकारीलाई संघ दर्ताको प्रमाण पत्र हस्तान्तरण गरे।