PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ट्रम्प–आबे फोनवार्ताः उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउन सहमत



रासस

ट्रम्प–आबे फोनवार्ताः उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउन सहमत

सोलः विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे पुगेका छन्।

उनीहरुबीच सोमबार फोनमार्फत भएको कुराकानीमा सो विषयमा सहमति बनेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

ह्वाइट हाउसले भनेको छ–कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउँदै लगेको छ भन्ने हो।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तरको यस्तो परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरिएको थियो। 

कुराकानीपछि उनीहरुबीच उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ। 

उत्तर कोरियाले गएको जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ। विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेकोसमेत बताएका छन्। 

सोही परीक्षणपछि यसले संसारमा नै शान्ति सुरक्षाको विषयलाई थप चर्चामा ल्याइदिएको छ। यसले गर्दा अमेरिकामात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ। 

फोनवार्ताका क्रममा उत्तर कोरियाले जारी राखेको यो क्षेप्यास्त्र परीक्षणले अमेरिकासहित यी तीन वटा देशमात्र नभएर विश्वका अरु पनि एसियाली या अन्य देशलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको चर्चा भएको विज्ञप्तिमा जनाइएको छ। 

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ। क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघ लगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ। 

ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री आबे उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा सहमत हुनुभएको छ र यसमा अरु विदेशी समुदायलाई पनि सहमत गराउने विषयमा छलफल भएको छ।’ रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell