PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

इनरुवा नगरपालिकाले गर्नेछ भैँसी सुन्दरी प्रतियोगिता : कसरी बचाइयो ४ हजारभन्दा बढी भैँसी?



पहिलोपोस्ट

इनरुवा नगरपालिकाले गर्नेछ भैँसी सुन्दरी प्रतियोगिता : कसरी बचाइयो ४ हजारभन्दा बढी भैँसी?

  • राजन मेहता


सुनसरी : नेपालमा सुन्दरी प्रतियोगिताको कुनै कमी छैन। अब यो मानिसमा मात्र सिमित रहेन। पूर्वी क्षेत्र इनरुवा नगरपालिकाले भने अब भैँसी सुन्दरी प्रतियोगिता गर्दैछ।

किन र के कारण भैँसीको सुन्दरी प्रतियोगिता हुँदैछ त?

सुनसरीमा तीव्र आधुनिकतातर्फ उन्मुख दुई सहर छन्– धरान र इटहरी। दुबै उपमहानगरपालिका हुन्। इनरुवा सुनसरीको सदरमुकाम र पुरानो थलो हो तर अब यो गाउँजस्तो पनि रहेन र सहरजस्तो पनि भएन। गाउँ र सहरको बीचमै अल्झिएजस्तो भयो इनरुवा। 

तुलनात्मक रूपमा इनरुवामा अझै ग्रामीण संस्कृति छ। यहाँका बासिन्दा अधिकांश किसान र पशुपालक छन्। इनरुवा नगरपालिकाभरि ४ हजारको सङ्ख्यामा भैँसी होलान्।

चुनावताका घोषणापत्र लेख्ने बेलामा पत्रकार सुविद गुरागाईंले प्रशस्त मेहनत गरे। धरान र इटहरीभन्दा इनरुवालाई पृथक पहिचानको कसरी देखाउने भने निकै चिन्तन गरियो।

हङकङ र दार्जिलिङको ठ्याक्कै प्रभाव धरानमा देख्न सकिन्छ। खुल्लापनमा धरानको परम्परा निकै अगाडि छ। कहिले फेसन र कहिले सुन्दरी प्रतियोगिता धरानका लागि नौलो होइन। इटहरी केही समययता धरानको सिको गर्दैछ। धरानको हावाले इटहरीलाई छोपिसकेको छ। दुबै उपमहानगरपालिकामा ठुला सपिङ मल, मल्टिप्लेक्स, रिसोर्ट, होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसको कमी छैन। 

तर इनरुवा ! यहाँ त त्यस्ता ठूला संरचना छैनन्। र्‍याम्प बनाउने खालका होटल र पार्टी प्यालेस पनि छैनन्। छन् त, सरकारी कार्यालय छन् सदरमुकाम भएका कारणले। सानो बजार छ। त्यसपछि धेरैजसो भैँसीपालक किसान छन्। यस्तो इनरुवामा कसरी गर्नु सुन्दरी प्रतियोगिता?

त्यसकारणले नगरपालिकाले नयाँ सोच निकाल्यो, भैँसी सुन्दरी प्रतियोगिता नै किन नराख्ने भनेर?

भैँसी बलियो, आकर्षक र सुन्दर होस्। राम्ररी सिंगारिएको र निरोगी भैँसी प्रतियोगितामा राखिएको होस्। यस्ता भैंसीको प्रतियोगिता गराउने। अनि जुन किसानलाई पहिलो घोषित गरिन्छ, उसलाई भैँसी नै पुरस्कार दिने।

हामीले घोषणापत्रमै भैंसी प्रतियोगिता गर्ने उल्लेख गरेका छौं। समय आएपछि गर्नेछौं।


म पनि भैँसीपालक नै थिएँ 

मलाई सम्झना छ, हाम्रो घरमा पनि ३ सय ५० भन्दा बढी भैंसी थिए। उस बखत, घरमा धेरै भैंसी हुने धनी कहलाइन्थ्यो। उसकै बुहारी राम्रा हुन्थे किनकि धनीका घरमा मात्र राम्रा छोरी दिइन्थ्यो। भैंसीकै चक्करमा परेर मेरा काका, हजुरबा स्कुल गएनन। सब निरक्षर भए। 

आज ३० वर्षपछि मेरा घरमा भैंसी त के एउटा बाख्रो पनि छैन। एउटा बाख्रो त थियो, डेढ वर्षअघि बेचियो। तर पनि नगरपालिका क्षेत्रमा भैंसीपालकको कमी छैन। यो कुरा त मैले बिर्सिसक्या थिएँ, प्रेस युनियनले सम्झाइदियो।

घरका साढे तीन सय भैंसी घरमै पालेर राख्न सम्भव हुन्थेन। दुहुना ५०/६० वटा घरमा राखेर बाँकी बकेर्ना र थाकेका भैंसी कोशी टप्पूमा चराउन पठाउने चलन थियो। 

कोसी टप्पूमा छुट्टाछुट्टै घरका भैंसी अलग–अलग बथान भएर चर्थे र ती आफ्नै समूहमा रहन्थे। हाम्रा घरमा भैंसीको हेरचाहका लागि ३÷४ जना श्रमिक (भैंसवार) राखिन्थ्यो। उनीहरूलाई पालैपालो खटाइन्थ्यो। भैंसवारले हातमा नुन बोकेर भैंसीजस्तै गरेर कराएपछि आफ्ना भैंसीजति सबै आइपुग्थे। यसरी भैंसी हराउने सम्भावना ज्यादै कम हुन्थ्यो। हातमा नुन बोकेर कराएकै भरमा भैंसीले आफ्ना मालिक वा भैंसवारलाई चिन्थे।


बल्लबल्ल बचाइयो भैंसी 

हामी निर्वाचित हुनेबित्तिक्कै दशा सुरु भयो। दुई दिनमै इनरुवा नगरपालिकाका विभिन्न किसानका १२ वटा भैंसी भटाभट मरे। करिब २२ वर्षपछि भ्यागुते भन्ने रोग फर्केर आएको रहेछ। भैंसीको घाँटी र कान सुन्निने, भोलिपल्ट भैंसी मरिहाल्ने। यस्तो भाइरलले नगरपालिका नै सखाप पार्न लाग्यो।

एकातिर भैंसी सुन्दरी प्रतियोगिता गर्ने कार्यक्रम घोषणापत्रमै राखिएको छ, अर्कातिर भटाभट भैंसी मरिरहेका छन्।

यसपछि हामी सबै निर्वाचित प्रतिनिधि नगरपालिकामा भेला भयौं। भ्यागुते भन्ने रोग पत्तालागिसकेको थियो र यसका लागि भ्याक्सिन दिनुपर्छ भन्ने ठहर पनि पशु चिकित्सकले गरिसकेका थिए। तर नगरपालिकामा भ्याक्सिनका लागि बजेट थिएन। 

के गर्ने ? निकै बेरको छलफलपछि उधारोमा भ्याक्सिन दिन स्थानीय औषधि पसल तयार भयो। दुई दिनभित्रमा हामीले ३ हजारभन्दा बढी भैंसीलाई भ्यागुते रोगविरूद्धको भ्याक्सिन दियौं। दश दिनयता कुनै किसानको पनि भैंसी भ्यागुतेले मरेको खबर आएको छैन।


नशा नशामा छ राजनीति

स्कुले जीवनदेखि नै राजनीतिमा लागियो। नेपाल विद्यार्थी संघमा धेरै सक्रिय भइयो। दुई वर्ष प्रहरीमा जागिर पनि खाएँ। २०५७ सालमा नेपाल प्रहरीको असई पदमा भर्ना हुँदा नेविसङ्घको जिल्ला सचिव थिएँ। त्यस बखत द्वन्द्व उत्कर्षमा थियो। आफ्नै दाजुभाइलाई गोली हानेर मार्न मन लागेन, २०५९ मै जागिर छाडें। फेरि राजनीतिमै सक्रिय भएँ, नशानशामा रहेछ राजनीति। प्रहरीमा भर्ना भएपछि थाहा भयो।

मलाई लाग्छ, हामीसित दोहोरो अभिभारा छ। एकातिर इनरुवालाई समुन्नत, सभ्य र समृद्ध सहर बनाउनु छ। अर्कातिर हजारौँ भैँसीपाला कृषकको रक्षा गर्नुछ। 

भैंसी सुन्दरी प्रतियोगितामा तपाईंहरूलाई बोलाउँला। 

(इनरुवा नगरपालिकाको नवनिर्वाचित प्रमुख राजन मेहतासँग अनन्तराज न्यौपानेले गरेको कुराकानीमा आधारित)
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell