
बेइजिङः चीनले उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न अमेरिकालाई आग्रह गरेको छ। उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणका विषयमा आफूलाई नजोड्न चीनले आग्रह गरेको हो।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको र कुनै कारबाहीका लागि पनि तयार नभएको बताएका थिए।
उनले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्ककाबारेमा चीनले चासो नदिएको भन्दै यसले संसारलाई अफ्ठेरो पार्ने अवस्था आउँदा पनि चीन नबोलेको बताएका थिए।
उत्तर कोरियाले यही जुलाइ महिनाको पहिलो हप्ता गरेको पछिल्लो शक्तिशाली परीक्षणपछि विश्वमा नयाँ तरङ्ग उत्पन्न भएको छ।
विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले निकै टाढासम्म मार हान्न सक्ने बताएका छन्।
चीनका वाणिज्य उपमन्त्री ओएन केमिङले सोमबार बेइजिङ्मा आयोजित पत्रकार सम्मेलनमा भने,‘चीन अमेरिका व्यापार सम्बन्ध तथा उत्तर कोरियाको आणविक कार्यक्रम यी दुई वटा बिल्कुलै फरक विषय हुन् त्यसैले यीनलाई जोडेर कुरा गर्नुको कुनै अर्थ छैन।’ रासस/एएफपी