PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

पहिरो र वर्षाले दोलखाका भूकम्पपीडितको जनजीवन कष्टकर



रासस

पहिरो र वर्षाले दोलखाका भूकम्पपीडितको जनजीवन कष्टकर

  • गोकर्णप्रसाद भण्डारी 
चरिकोट : दोलखाका अधिकांश भू–भागका भूकम्पपीडितको जनजीवन पहिरो र वर्षात्सँगै कष्टकर बनेको छ। वर्षाले भूकम्पले चिरैचिरा बनेको भू–भागको बस्तीका वासिन्दाको दैनिकी झनै पीडादायी बनेको छ। 

दोलखाको उत्तरी दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिका–३ मार्बु सिक्पाश्वरकी डम्बरकुमारी श्रेष्ठ अहिले वर्षाका कारण आफ्नो दैनिकी कष्टकर बनेको बताउँछिन्।

उनी भन्छिन्,‘जस्तापाताले छाएको टहरामा बस्नुपर्दा बालबच्चा बिरामी परेका छन्, रुघाखोकी, ज्वरो, झाडापखालाको समस्याले सताइरहन्छ ।’ पानीको भल टहराभित्र पस्दा रातभरि जागै बस्नुपर्ने बाध्यताले कहिले वर्षा कम होला र केही सहजता आउला भन्ने उहाँमा आशा जाग्ने गर्दछ। वर्षासँगै आउनसक्ने पहिरोले पनि स्थानीयवासीलाई थप भयभित तुल्याएको छ। 

उनीजस्तै दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङस्थित दूधपोखरी टोलका सात घरका स्थानीयवासी राताभर जागराम बस्न बाध्य भएको बताउँछन्।

यहाँका ४७ वर्षीय कृष्णबहादुर बस्नेतको घर छेउमा ठूलो पहिरो छ, रातभर पानी पर्छ, पानीसँगै त्यही पहिरोले सबै गाउँ नै लैजान्छ कि भन्ने पिरले आफूहरुलाई सताउने गरेको बस्नेतको भनाइ रहेको छ। 

दोलखाका कतिपय स्थानीयवासीले त वर्षात्सँगै गाउँ नै छोडेर हिँड्नु पर्ने बाध्यता रहेको बताएका छन्। भूकम्पलगत्तै भूगर्भविद्हरुले बस्ती स्थानान्तरण गर्नुपर्ने भने पनि सरकारी उदासीनताका कारण कतिपय स्थानीयवासीले पहिरोमा नै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ। 

सरकारले दिएको अनुदानको प्रथम किस्ताबापतको ५० हजार रकम स्थानीयवासीले बुझे पनि सुरक्षित र उपयुक्त स्थान नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको भनाइ छ।

उपयुक्त स्थानमा जग्गा नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको र वैकल्पिक व्यवस्था नहुँदा आफूहरुलाई स्थायी आवास निर्माणमा समस्या भएको कालिञ्चोक गाउँपालिका–५ लापिलाङका दिलबहादुर थापाको भनाइ छ। 

दिलबहादुर थापा हाल आफ्नो पुरानो गाउँ लापिलाङमा घर निर्माण गर्ने जग्गा नभएपछि बिरक्तिएर सदरमुकाम आएर बस्न बाध्य भएका छन्।

वर्षको १५ हजार तिरेर भाडाको जमिनमा आफ्ना परिवार पाल्दै आएका छन्। अधिकांश समय भारतको दार्जिलिङमा भरिया जीवन बिताउने थापा अहिले दार्जिलिङको आन्दोलनका कारण नेपालमा नै बस्न थालेका छन्। 

थापाले भीमेश्वर नगरपालिका–६ का स्थानीय माधव कार्कीको जग्गा भाडामा लिएर परिवारलाई जस्ताको कटेरोले बारेर कष्टकर ढंगबाट जीवनयापन गरिरहेका छन्। थापा भन्छन्,‘गरिबको जिन्दगी यस्तै हो हजुर, न आफ्नो घर बनाउने घडेरी छ, न घर बनाउन पैसा नै।’

ज्यामी काम गरेर भएपनि आफ्ना छोराछोरी राम्ररी पढाउने इच्छा छ दिलबहादुर थापाको। थापाको श्रीमती, बूढीआमा र चारजना छोराछोरी छन् । एक छोरी आफू भारतमा नै बस्दा मावलीगाउँमा पढ्न राखेको उनी बताउँछन्। 

भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको भीमेश्वर नगरपालिका–९ कुतकुतेका स्थानीयवासी झनै त्रासदीमय जीवनयापन बिताइरहेका छन्।

पहिरोको उच्च जोखिमकै स्थानमा स्थानीयवासी बसोबास गर्दा यहाँ चारजनाले ज्यानसमेत गुमाए। लेखबहादुर श्रेष्ठ भन्छन्,‘राज्यले हाम्रो जोखिम बस्ती सारिदेओस् भन्ने अपेक्षा छ, तर हाम्रो कुरा कसैले सुनेन ।’ 

श्रेष्ठका अनुसार नगरपालिका बन्नुभन्दा पहिले यो ३ नं वडा पूरै पहिरोको उच्च जोखिममा रहेको भनेर भूगर्भविद्ले भनेका थिए, अहिले पूरै भासिएर बस्नै नहुने भएको छ, तर जाने ठाउँ छैन।

भूकम्पका कारण दोलखाका करिब १५० टोल पहिराको उच्च जोखिममा रहेपनि सरकारी उदासीनता र स्थानीय निकायको चासो नभएपछि सरकारले दिएको अनुदानको ५० हजार रकमले स्थानीयवासीले जोखिम मोलेरै बस्ती बसालिरहेका छन्। 

अबिरल वर्षाका कारण हाल दोलखाका अधिकांश भू–भागमा कच्ची सडकमा चल्ने सवारीसाधनसमेत चलेका छैनन्। धेरैजसो स्थानमा यातायातका साधन अवरुद्ध छन्। कतिपय स्थानमा विद्यालय टाढा हुँदा मौसम नसुध्रिएसम्म बालबालिका विद्यालय जान बञ्चित छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell