PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सीप र भाषाको ज्ञान दिएर मात्र वैदेशिक रोजगारमा पठाउन आयोगको सुझाव



पहिलोपोस्ट

सीप र भाषाको ज्ञान दिएर मात्र वैदेशिक रोजगारमा पठाउन आयोगको सुझाव

विराटनगरः खाडी क्षेत्रका ५ देशमा अकस्मात् कुनै विपत्ति आइलाग्यो र त्यहाँका नेपालीलाई तुरुन्त फर्काउनु पर्‌‍यो  भने के गर्ने? पाँच मुलुकमा काम गर्ने १२ लाखभन्दा बढी नेपाली भएको तथ्याङ्क छ।

‘अहिले सञ्चालित विमान सेवाबाट ओसार्ने हो भने ८ वर्ष लाग्छ’, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक भन्छन्, ‘पानीजहाजमा चढाएर मुम्बईबाट ल्याउनु पर्‌‍यो भने पनि ८ महिना लाग्छ ।’

वैदेशिक रोजगारमा गएका नेपालीले दुःख पाएको खबर व्याप्त भइरहेका बेला आयोगले आप्रवासीको मानव अधिकारको रक्षाका लागि अभियान चलाउन आरम्भ गरेको सदस्य पाठकले जानकारी दिए।

नेपाली कामदारले विदेशमा किन दुःख पाइरहेका छन् भनेर आयोगले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको पाठकको भनाइ थियो।

‘कम्बोडियालगायतका मुुलुक घुमेर मैले के पत्ता लगाएँ’, उनले भने, ‘हाम्रा श्रमिक विदेश गएर जुन काम गर्ने हो, त्यसको सीप र त्यस मुलुकको भाषा अलिअलि सिकाइदियौँ भने समस्याको आधा समाधान हुने रहेछ। उनीहरूले दुःख पाउने पहिलो कारण सीप र भाषाको अज्ञान रहेछ।’

पाठकका अनुसार नेपालले अहिलेसम्म ५ वटा मुलुकमा मात्र श्रम सम्झौता गरेको छ तर १ सय १ मुलुकमा कामदार पठाउँछ। अर्को आश्चर्य के छ भने, नेपालीहरू संसारका २ सय मुुलुकमा कामदारका रूपमा छन्।

खाडी क्षेत्रका ५ मुलुकमा आयोगले निरन्तर अनुगमन गर्न थालेको पाठकले जानकारी दिए। ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले पनि न्यूनतम रूपमा भाषा र सीप जानेको कामदार हुनुपर्छ भनेको छ’, सदस्य सुदीपको भनाइ थियो, ‘त्यत्ति भइदियो भने एउटा तलब भनेर लगेकालाई अर्को तलब दिने, एउटा काम दिन्छु भनेर अर्को काममा लगाउने र एउटा कम्पनीमा राख्छु भनेकालाई अर्को कम्पनीमा पठाउने समस्या हट्छ।’

पाठकको सुझावअनुसार कुन मुलुकमा, कस्तो काममा र कति पारिश्रमिकमा कामदार पठाउने हो त्यसको सम्झौता त्यहाँको मुलुकसित नेपाल सरकारले नै गर्नुपर्छ। अनि मात्र सीप र भाषामा आधारभूत ज्ञान भएको कामदार पठाउनु पर्छ । सरकारी तवरबाटै यति काम हुने हो भने वैदेशिक रोजगारमा जाने नेपालीको मानव अधिकारको रक्षा हुन सक्छ।

अहिलेसम्म वैदेशिक रोजगारमा जाने नेपालीमध्ये ५ हजार ८ सय ६६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क भएपनि वास्तवमा ६ हजार २ सय रहेको उनको दाबी थियो।

त्यस्तै घाइते हुनेको सरकारी तथ्याङ्क ८ सय ४७ भए पनि १ हजार ५ सयभन्दा बढी घाइते भइसकेको पाठकले बताए।

अव्यवस्थित वैदेशिक रोजगारकै कारण सम्बन्ध विच्छेद र आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लख गर्दै उनले बालबालिकामा मनोवैज्ञानिक असर परेको, उमेरदार महिला र पुरुष यौनकुण्ठाको सिकार भएको तथा घरका वृद्धवृद्धा तथा पशुपंछीको स्याहार हुन नसकेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell