PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

स्थानीय तह सञ्चालन विधेयकमाथि बल्ल सैद्धान्तिक छलफल सुरु



रासस

स्थानीय तह सञ्चालन विधेयकमाथि बल्ल सैद्धान्तिक छलफल सुरु

काठमाडौँ : पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको अढाइ महिनापछि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल भएको छ। 

व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा विधेयकमाथि संशोधन दर्ता गराएका सांसदले संशोधन गर्नुपर्ने सम्बन्धमा आफ्ना विचार राख्दै कानूनका अभावमा निर्देशनका भरमा स्थानीय तह सञ्चालन भएकाले छिटो विधेयक पारित गरिनुपर्नेमा जोड दिए। 

सांसदले उठाएका विषयमा जवाफ दिँदै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सांसदले दर्ता गराएका संशोधनमध्ये विभिन्न तहका लागि आवश्यक विषय समावेश गरिने प्रतिबद्धता जनाए। उनले भने,‘स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन सरकार तयार छ, तहमा नमूना कानून नपठाउँदा फरक फरक कानून बन्न सक्ने भएकाले नमूना बनाएर पठाइएको हो, जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रित गर्न खोजिएको होइन।’

सीमा निर्धारण गर्ने अधिकार स्थानीय तहलाई दिँदा फरक दलको नेतृत्व आउँदा सीमा पनि फेरबदल भइरहने सम्भावना देखिएकाले केन्द्रीय सरकारले नै गर्ने व्यवस्था गरिएको उपप्रधानमन्त्री गच्छदारले बताए। 

विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफलका लागि सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए।

समितिमा रामचन्द्र पोखरेल, आङटावा शेर्पा, गणेश पहाडी, वैजनाथ चौधरी, डा शिवजी राय यादव, कल्पना चौधरी र तुलसा राना छन्। उपसमितिलाई दफावार छलफलको प्रतिवेदन तयार पार्ने अधिकारसहित पाँच दिनको समय दिइएको छ। 

उपसमितिको आजै बसेको बैठकले सांसद पोखरेललाई संयोजक तोकेको छ। उपसमितिमा विधेयकमाथि मंगलबारदेखि दफावार छलफल हुने छ। 

संशोधनकर्ता सांसद ध्रुव वाग्लेले स्थानीय तहलाई पाँच मेगावाटको सट्टा १० मेगावाटसम्मको जलविद्युत् योजनाको जिम्मेवारी दिनुपर्ने बताए।

सांसद भरतकुमार शाहले स्थानीय तहको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयले मात्र नसक्ने भएकाले संयन्त्रको निर्माण गर्ने व्यवस्था मिलाउन माग गरे। 

सांसद रामेश्वर फुयाँलले प्रत्येक वर्ष फागुन १५ गते स्थानीय तहको बजेट पेश गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गरे। पाँच हजार जनसंख्या र ८४ हजार जनसंख्या भएका वडामा पनि नौ जनाको वडा समिति न्यायोचित नभएको उनको भनाइ थियो।

सांसद पार्वत गुरुङ, राजाराम स्याङ्तान, लीला मगर, प्रभादेवी वज्राचार्य, रञ्जनाकुमारी सरकार, टेकुकुमारी नेपाली, सीता गिरी ओली, ममता गिरी, जनकराज जोशी, भरत साउद, भरतबहादुर खड्कालगायतले विधेयकमा रहेको संघीयता विरोधी व्यवस्था हटाइनुपर्ने तथा सबै स्थानीय तहको एउटै महासंघ बनाउन नहुने व्यवस्था गर्ने गरी संशोधन गर्न माग गरे। 

सांसद प्रेम सुवालले नगरपालिकामा स्नातक र उपमहानगरपालिकामा स्नातकोत्तर तहको क्याम्पस तथा महानगरपालिकामा विश्वविद्यालय स्थापना गर्ने गरी कानुन निर्माण गर्नुपर्ने माग गरे। सांसद डिल्लीप्रसाद काफ्लेले सम्बन्धित स्थानीय तहको प्राकृतिक स्रोतको उपयोग त्यहीँ हुने व्यवस्था मिलाउन माग गरे। 

सांसद प्रकाश ज्वालाले राजश्व बाँडफाँटसम्बन्धी व्यवस्था प्राकृतिक स्रोत साधन तथा वित्त आयोगसम्बन्धी ऐनमा आउने भएकाले विधेयकबाट हटाउन माग गरे।

सांसद अग्निप्रसाद खरेलले स्थानीय तहबाट भएका निर्णय सूचनाको हकसम्बन्धी ऐनअनुसार नागरिकलाई जानकारी गराउन स्थानीय राजपत्र प्रकाशन गरिनुपर्नेमा जोड दिए। 

सांसद चूडामणि जंगली, झूलबहादुर आले, श्यामकुमार श्रेष्ठ, रीता रावल र जीवन परियारले स्थानीय तहमै कर्मचारी नियुक्तिको अधिकार दिँदा मनोमानी हुने भएकाले लोक सेवा आयोगको प्रतिनिधि सम्मिलित समिति गठन गर्ने व्यवस्था गर्ने गरी संशोधनको प्रस्ताव दर्ता गरिएको जानकारी गराए। 

सांसद रामनारायण बिंडारीले अब प्रजिअको व्यवस्था नहुने भएकाले विधेयकमा उनको अधिकार स्थानीय तहलाई दिने गरी कानुन तर्जुमा गर्नुपर्ने बताए। 

सांसद शक्तिबहादुर बस्नेतले वडा समितिको काम, कर्तव्य र अधिकार स्थानीय तहको ऐनमै उल्लेख गरिनुपर्ने बताए।

सांसद जीवनबहादुर शाहीले हुम्लामा दुई हजार ४२० वर्ग किलोमिटरको एउटै गाउँपालिका भएकाले समन्वयका लागि जिल्लाको संरचना नहटाउन माग गरे।

सांसद हितराज पाण्डे, मीना पुन र कृष्णभक्त पोखरेलले विधेयकमा प्रदेश सरकार पनि छ भन्ने नसोचिएकाले संशोधनका क्रममा यसतर्फ ध्यान जानुपर्नेमा जोड दिए। 

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह सञ्चालन ऐन संविधानभित्रको संविधान भएको बताए। उनले भने,‘स्थानीय तहमा सुशासन स्थापनाका लागि सार्वजनिक सुनुवाइ र सामाजिक लेखा परीक्षणको व्यवस्था ऐनमै गरिनुपर्छ, यसले बेरुजु घटाउन पनि सहयोग गर्छ, राजश्व बाँडफाँटसम्बन्धी सुझाव लिन विज्ञलाई पनि आमन्त्रण गरिनुपर्छ।’

कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरेले प्रत्येक स्थानीय तहमा एक कानुन हेर्ने अधिकारी राखिनुपर्ने बताउँदै दिइएका अधिकार प्रयोग गर्न सक्षम भएपछि थप्ने सोच राखिएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell