PahiloPost

Feb 2, 2025 | २० माघ २०८१

देशान्तर सम्पादकलाई निर्वाचन आयोगद्वारा तीन दिनभित्र उपस्थित हुन निर्देशन



रमेश वाग्ले

देशान्तर सम्पादकलाई निर्वाचन आयोगद्वारा तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं : निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधान सम्पादकलाई तीन दिनभित्र निर्वाचन आयोगमा बोलाएको छ। देशान्तरमा प्रकाशित समाचारका विषयमा जवाफ दिन आयोगले 'तथ्य प्रमाण'सहित उपस्थित हुन निर्देशन दिएको हो।

'२०७४ साल साउन ८ गते र १५ गते निर्वाचन आयोगलाई लक्षित गरी देशान्तर साप्ताहिक पत्रिकामा प्रकाशित दुराशययुक्त एवम् मिथ्या समाचारका विषयमा देशान्तर साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारवाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने,' आयोगको निर्णयमा भनिएको छ। 

देशान्तर साप्ताहिकमा 'निर्वाचन आयोगमा मामाको धनमा फुपुको श्राद्ध' तथा २०७४ साल साउन १५ गते सोही पत्रिकामा 'निर्वाचन आयोगलाई १८ अर्ब सक्नु पर्ने?' शीर्षकमा प्रकाशित समाचारको विषयमा आयोगले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। 

देशान्तरको आपत्ति

समाचारको विषयलाई लिएर निर्वाचन आयोगले बोलाएको प्रति देशान्तरका प्रधानसम्पादक कविर राणाले आपत्ति जनाएका छन्। 

'संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ र निर्वाचन आयोगलाई समाचारका विषयमा डाक्ने अधिकार संविधानले दिएको पनि छैन,' राणाले भने, 'म निर्वाचन आयोगले बोलायो भन्दैमा दोडेर जवाफ दिन जान्नँ। आयोग बरु प्रेस काउन्सिल वा सर्वोच्च अदालतमा जान सक्छ।' 

उनले सर्वोच्चले बोलाएपछि उपस्थित हुन आफूलाई आपत्ति नभएको बताए। 

निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने देशान्तरलाई स्रोत माग्न नभएर समाचारको आधार के हो भनेर बुझ्नका लागि मात्र बोलाएको बताए। 

'हामीले स्रोत मागेका छैनौँ। बुझ्न त मिल्छ होला नि !' सचिव न्यौपानेले भने। तर आयोगको विज्ञप्तिमा भने 'तथ्य प्रमाणसहित ' भनेर उल्लेख छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell