PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'



सविन ढकाल

एसएसपी खनालले मेयर शाक्यलाई भने 'तपाई सक्नुहुन्न भने म गर्छु'

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्।

उनले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका हुन्।

एसएपी खनालले भने, 'खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ। बाँच्ने व्यवस्थासम्म गर्नेको लागि तत्काल पुर्ने व्यवस्था गर्नुहोला।'

उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताए।  सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे,  'म पटक-पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस्।'

सुन्दर र सफा सहर बनाउन  सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे।

खनालले भने, 'सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु।'

उनले सबैमा उठोट भए राजधानीको ट्राफिक र सडक समस्या तत्काल समधान हुने बताए।

ट्रिपरको गुन्डागर्दी चल्दैन अब

सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेको गुनासो आएकाले अब जथाभावी सवारी नचलाउन एसएसपी खनालले ट्रिपर चालक र संचालकलाई आग्रह गरेका छन्।

केही ट्रिपर चालक गुन्डागर्दी गर्नेले संचालन गरेकोले अब दादागिरी नचल्ने उनले बताए। उनले भने, 'केही गुन्डाले  डाँडापाखा लिने अनि ट्रिपर संचालन गर्ने गरेको पाइएको छ। त्यस्ताको लगत मसँग छ। तिनका सातो लिने मात्र होइन, व्यवसाय नै बन्द गराइदिन्छु।'

खनालले अब ट्राफिक प्रहरीले सडकमा चालक र यात्रुलाई अनावश्यक दुःख नदिने पनि दावी गरे।

मोनोरेल संचालनमा आएपछि राजधानीको यातायात व्यवस्था समाधान हुन्छः मेयर शाक्य

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरमा मोनोरेल संचालनमा आएपछि ट्राफिक र यातायात समस्या समधान हुने दावी गरे।

महानगरमा मोनोरेलको ल्याउनको लागि गृहकार्य भइरहेको शाक्यले बताए। उनले भने, 'हामीले सबै नगरपालिका र लगानी बोर्डसँग कुरा गरिरहेका छौं। मोनोरेल मेरै कार्यकालमा आउँछ।'

मेयर शाक्यले राजधानीको खाल्डाखुल्डी पुर्न भने महानगरले केही ढिलो गरेको स्वीकारे। उनले भने, 'अहिले बर्खायाम छ। कतिखेर पानी आउँछ, पत्तो हुँदैन। पुरेको बगाएर लान्छ। त्यसैले बजेट किन खेर फाल्ने?'

शाक्यले दशैँसम्म राजधानीका सबै खाल्डाखुल्डी पुरिसक्ने दावी गरे। उनले महानगरले ट्राफिक समस्या समाधान गर्ने, महानगरका ४/५ ठाउँमा ओभरहेड पुल र पार्किङ मल बनाउने तयारी भइरहेको बताए।

'हामीसँग विभिन्न स्थानमा जग्गा छ। कसैले पार्किङ मल बनाउँछ भने हामी दिन तयार छौँ।'

पैदल यात्रुलाई २ सय जरिवाना लागु होस् : यातायात व्यवसायी

केही महिना अगाडि राजधानीमा लागू भएको जथाभावी बाटो काटे २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था पुनः सुरु गर्न यातायात व्यवसायीले माग गरेका छन्। नेपाल यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले गृहमन्त्री जनार्दन शर्माले नबुझेको कारण यो व्यवस्था हटाएकाले पुनः लागू गर्नुपर्ने माग गरेका छन्।

सरकारको प्रष्ट नीति नियम र सडकको दुरावस्थाको कारण यातायात व्यवसायीको लगानी जोखिमपूर्ण भएको महासचिव सिटौलाले बताए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell