PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सम्भव छ ७.२ प्रतिशत आर्थिक वृद्धिदर? अध्ययन भन्छ '३.५४ प्रतिशतमा सीमित'



अरुण सापकोटा

सम्भव छ ७.२ प्रतिशत आर्थिक वृद्धिदर? अध्ययन भन्छ '३.५४ प्रतिशतमा सीमित'

काठमाडौं: काठमाडौं विश्वविद्यालयको ‘इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ले चालु आर्थिक वर्षमा सरकारले लक्ष्य गरेभन्दा आधामात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०१६-१७’ मा चालु आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वृद्धिदर ३.५४ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो।

सरकारले बजेटमार्फत चालु आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा ६.९ प्रतिशतको वृद्धि हासिल भएपछि उत्साहित बनेको सरकारले उक्त लक्ष्य राखेको थियो।

राष्ट्रिय नीतिमा कुनै परिवर्तन नआए सरकारी लक्ष्यको आधाभन्दा कम वृद्धिदर हासिल हुने इन्टिच्युटले निष्कर्ष निकालेको हो। आउटलुकमा आगामी आर्थिक वर्ष २०७५/७६ मा पनि ३.७९ प्रतिशतमात्र वृद्धिदर कायम हुने पूर्वानुमान गरिएको छ।

गत आर्थिक वर्षमा उच्च आर्थिक वृद्धि हासिल हुनुमा कृषि क्षेत्रमा सुधार, भूकम्पपछिको पुनर्निर्माण लगायत कारण रहेको आउटलुकमा उल्लेख गरिएको छ।

उक्त अध्ययन अनुसार चालु आर्थिक बर्षमा ६.०५ मूल्य वृद्धि हुने र आउँदो आर्थिक वर्ष यो ६.०३ प्रतिशतमा सीमित रहने पूर्वानुमान समेत गरिएको छ।

सरकारले मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरेकोमा आउटलुकले यो विश्लेषण सार्वजनिक गरेको हो।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार उक्त आउटलुक सार्वजनिक गरे। आउटलुक अर्थतन्त्र सुधारका लागि उपयोगी दस्तावेज हुने उनले बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमा राजनीतिक तथा सामाजिक आयाममा धेरै सुधार भए पनि आर्थिक अभ्यास बदलिन बाँकी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell