काठमाडौं: भुटानी शरणार्थीको कथा बोकेको दुई फिल्म एक साथ प्रदर्शनमा आउने भएका छन्। प्रकाश आङदेम्बेले निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ र विजय लिम्बु केरुङ निर्देशित फिल्म ‘हामी शरणार्थी’ भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको हो। फिल्म रिलिज मिति जुध्नु सामान्य विषय हो। तर भदोको पहिलो साता प्रदर्शनमा आउने फिल्म रिलिज जुध्नु यी दुई फिल्मको लागि निकै प्रतिस्पर्धात्मक मान्न सकिन्छ। किनकी दुबै फिल्ममा भुटानी शरणार्थीको कथा मुख्य विषय हो। विषय उठानसँगै फिल्मको जानरा पनि एउटै रहेको छ।
यसअघि देश खोज्दै जाँदाको रिलिज टार्गेट जेठ १२ लाई तोकिएको थियो। तर फिल्मले रिलिज टार्गेट मिट गर्न सकेन। साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका फिल्म पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि तयार भएको निर्देशकको दाबी छ। ‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपाली भाषी भुटानी नागरिकहरुको वास्तविक कथा हो यो,’ फिल्मबारे आङदेम्बेले भने, ‘भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्दन्द्दलाई मार्मिक र संवेदनशीलताका उजागर गर्न खाजेका छौं।’
फिल्मको कथा निर्देशक आङदेम्बेकै हो। कवि उपेन्द्र सुब्बाले पटकथामा रहेको फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको गीतमा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको छ। संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन्।
त्यस्तै फिल्म 'हामी शरणार्थी'मा शिल्पा पोखरेल मुख्य अभिनेत्रीको रुपमा देखिएकी छिन्। जहाँ उनी दुई सन्तानकी आमा र एक बोल्ड पात्रको रुपमा देखिएकी निर्देशक विजय लिम्बु केरुङले जानकारी दिए। फिल्ममा शिल्पासँगै जीवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय रहेको छ।
केरुङ फिल्मस्को प्रस्तुती रहेको फिल्ममा भुटानी शरणार्थीले पाएको दुःखको कथा समेटिएको केरुङको दाबी छ। फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ।