PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारमन्त्रीले निजी सञ्चारगृहसँग छलफल गर्ने



रासस

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारमन्त्रीले निजी सञ्चारगृहसँग छलफल गर्ने

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताएका छन्। 

नेपाल पत्रकार महासंघले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानुनमा तोकिएबमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गरे। 

पत्रकारको न्यूनतम पारिश्रमिक (मासिक १९ हजार पाँच सय) सबै सञ्चारगृहमा लागू नभएको भनी सञ्चार संस्थाले आवाज उठाउँदै आएका छन्।

मन्त्री बस्नेतले लोकतान्त्रिक मुलुक र आधुनिक विश्वमा पत्रकारले पाउनुपर्ने सुविधा नपाउने विषय दुःखद् भएकाले यसमा सञ्चारसम्बन्धी संस्थासँगको सहकार्यका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले क्लिन फिड विज्ञापन नीति लागू गर्ने सम्बन्धमा आफूले अध्ययन गरिरहेको जानकारी दिए। 

महासंघका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत र भौतिक सुरक्षालाई पहिलो प्राथमिकता दिएर आफूहरुले काम गरेपनि धेरै पत्रकार अहिलेसम्म तोकिएको पारिश्रमिक नपाउने तथा नियुक्तिपत्र नपाई काम गर्नुपर्ने बिडम्वनापूर्ण अवस्था रहेको बताए।

उनले आमसञ्चारसम्बन्धी नीति कार्यान्वयन र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि सरकारले ध्यान नदिएको गुनासो पनि गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell