PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

डाक्टर कुटिएको विरोधमा नारायणी अस्पतालको ओपिडी सेवा बन्द



राधेश्याम पटेल

डाक्टर कुटिएको विरोधमा नारायणी अस्पतालको ओपिडी सेवा बन्द

वीरगञ्ज : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ओपिडी सेवा बन्द भएको छ। चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको विरोधमा ओपिडी सेवा ठप्प पारेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

सेवा ठप्प पारेर विरोधमा उत्रिएका आन्दोलनकारीले कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेका छन्।

गत आइतवार नारायणी उपक्षेत्रीय अस्पतालको गाईनो वार्डमा कार्यरत डाक्टर चादनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खड्कामाथि कुटपिट भएको थियो।

नगवाका युवाहरुको समुहले हातपात गरी घाइते बनाएका थिए। घटनाको विरोधमा उत्रिएका अस्पतालका स्वास्थ्यकर्मीहरु सुरक्षाको माग गर्दै आज ओपिडी सेवा ठप्प पारेर सिडियो कार्यलयतर्फ लागेका हुन्।

घटनामा संलग्न रहेका नगवाका अख्तर हवारी र निरन्जन पटेल पक्राउ परेपनि प्रहरीले ती दुवै युवकलाइ कारवाही नै नगरि छोड्ने चलखेल गरेको भन्दै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन्।
 
आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नहरुलाइ कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र पनि बुझाएका छन्।

आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पतालमा काम गर्ने चिकित्सक र कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने, आगामि दिनमा यस्ता घटना हुन नदिने र पक्राउ परेकाहरुलाइ कारवाहीको ग्यारेन्टी गर्नुपर्ने माग सहितको ज्ञापन पत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई बुझाएका हुन्।

अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले घटनामा संलग्नलाई कारवाहि नगरी उन्मुक्ति दिए  चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने घटनामा संलग्नहरुलाई कारवाही हुने आश्वासन दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell