
लहान : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन्।
राप्रपा सिरहाले मंगलबार लहानमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राजपालाई निर्वाचनमा ल्याउने विश्वासिलो वातावरण बनाउनुपर्ने बताए।
उनले भने,“तेस्रो चरणअन्तर्गत हुने सथानीय तह निर्वाचनको समय डेढ महिना मात्र बाँकी रहँदा पनि राजपा चुनावमा जाने नजानेबारे कुनै टुंगो लाग्न नसक्दा मतदाता अन्यौल रहेकाले सरकारले तत्काल विश्वासिलो वातावरण बनाउनुपर्छ ।”
अध्यक्ष थापाले सत्तारुढ दलको स्वार्थ र नियतकै कारण राजपा सरकारमा आउने वातावरण बन्न नसकेको आरोप लगाउँदै वर्तमान सरकार मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भीर नभएको बताए।
कांग्रेस र माओवादीले नै आन्दोलनरत राजपालाई निर्वाचनमा ल्याउन नचाहेको आरोप लगाउँदै थापाले राजपा निर्वाचनमा नआए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिए।
अध्यक्ष थापाले मधेसमा सानो आकारमा देखिएको विखण्डनकारी र अतिवादी सोच भएका समूहलाई निरुत्साहित बनाउन पनि संविधानभित्रै अधिकार र पहिचान खोजिरहेका राजपालाई चुनावमा ल्याउनु जरुरी रहेको बताए। रासस